जाजरकोटको पीडाप्रति राज्य संवेदनशील नरहेको सभासद्हरुको गुनासो छ । संवेदनशील समयमा पनि राजनीतिक पहुँचको आधारमा मात्र सेवासुविधा उपलब्ध गराइरहेको उनीहरुको आरोप छ ।

जाजरकोटका सभासद्हरुले पछिल्लो केही दिनयता जाजरकोटमा फैलिएको माहामारीका कारण जनताले ज्यान गुमाइरहँदा राज्यपक्षले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका हुन् । बिहीबार काठमाडौंमा आायोजित कार्यक्रममा जाजरकोटबाट चुनिनुभएका नेपाली कांग्रेसका सभासद् राजीवविक्रम शाहले भौगोलिक विकटतासँगै राजनीतिक पहुँच नहुँदा जाजरकोटका जनताले सेवासुविधा पाउन नसकेको बताउनुभयो । जाजरकोटमा स्वास्थ्य सेवाका लागि भौतिक पूर्वाधार नभएको साथै अहिले पनि पर्याप्त सेवा उपलब्ध नगराइएको उहाँको तर्क छ । नेकपा एमालेकी सभासद् रिता रावलले आवश्यक मात्रामा शौचालयको समेत सुविधा उपलब्ध नभएको भन्दै जाजरकोटीवासी अन्य सुविधाबाट समेत वञ्चित रहेको बताउनुभयो । अहिलेको समस्या समाधान गर्न पनि सम्बन्धित पक्ष मौन रहेको उहाँको गुनासो छ । एकीकृत नेकपा माओवादीका सभासद् शक्ति बस्नेतले झाडा पखालाकै कारण मृत्यु हुने त्यस स्थानमा अहिलेको महामारी नियन्त्रण गर्न चालिएका कदम प्रभावकारी नभएको धारणा राख्नुभयो ।






