अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतभेदहरु पन्छाएर एकै परिवारजस्तो एकजुट हुन अमेरिकी जनतालाई अपिल गरेका छन् ।
कार्यालय सम्हालेयता पहिलोपटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अमेरिकालाई फेरि महान् बनाउन ‘ह्वाइट हाउस’ लागिपरेको जिकिर गरे ।
‘स्टेट अफ द युनियन’ भनिएको उक्त सम्बोधनमा उनले ‘अमेरिकी सपना बाँच्न थाल्न यति उपयुक्त समय कहिल्यै नभएको’ दाबी पनि गरे ।
संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भएको दुवै सदनका सदस्य उपस्थित सम्बोधनमा ट्रम्पले आफ्नो कार्यकालमा भएको कर कटौतीको विषयलाई उपलब्धि भन्दै त्यसले मध्यमवर्गका अमेरिकीलाई राहत दिएको जिकिर गरे ।
उनले संसद्मा विचाराधीन आप्रवासनसम्बन्धी मुद्दामा रिपब्लिकन र डेमोक्र्याट्ससँग मिलेर काम गर्न चाहेको पनि उल्लेख गरे ।
पहिलो वर्षको कार्यकालमा राष्ट्रपतिले आफ्नो मन र मस्तिष्क दुवैले शासन गर्नुपर्दो रहेछ भन्ने पनि आफूले सिकेको उनले बताए । (एजेन्सी)






