आज स्वस्थानी व्रतको समापन गरिदैं

काठमाण्डौ। एक महिनादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदैछ । पौष शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज समापन गर्न लागिएको हो ।

महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन रहिआएको छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

यसवर्ष स्वस्थानी व्रत कथाको सांगेको दिन खग्रास चन्द्र ग्रहण लागेकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समाप्त गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्ने पञ्चांगको सुझाव छ ।