हेटौंडा- उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउन र प्रजातन्त्रलाई स्थायित्व प्रदान गर्न नेपाली कांग्रेसमा नेतृत्व रहेको लोकतान्त्रिक शक्तिलाई मतदाताले मतदान गरी विजय गराउन आवश्यकता रहेको बताउनुभयो ।
लोकतान्त्रिक गठबन्धन मकवानपुरद्वारा आयोजित चुनावी आमसभालाई मंगलबार हर्नामाडीको रामधुनी हटियाको चिसापानी र छत्तीवनको श्रीपुरमा छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले नेपाली काँग्रेसका नेता स्व विपी कोइरालाले आह्वान गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई आम जनताले चिन्तन र मनन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले देशमा राष्ट्रियतामाथि खतरा उत्पन्न भएकाले सबै मतदाताले लोकतान्त्रिक शक्तिलाई विकल्पका रुपमा रोज्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।
अध्यक्ष थापाले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउन प्रजातान्त्रिक शक्ति एकजुट भई चुनावमा विजय प्राप्त गर्नुपर्ने आवश्यकता छ भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादर बानियाँले देशमा अहिले बढ्दै गएको हिंसाको राजनीतिलाई नियन्त्रणमा ल्याउन जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र सुकुम्बासी जनतालाई स्थायी बसोबास गराउनेतर्फ नेपाली कांग्रेसको सरकार आवश्यक रहेको बताउनुभयो ।






