काठमाडौं– ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता (जेभीए) भएको छ ।
बिहीबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा दुई कम्पनीबीच सम्झौता भएको छ । गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।
सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरेपनि थ्रि गर्जेजले भने ढिलाई गरेको थियो ।
सन् १९९३ मा स्थापना भएको थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।
फेब्रुअरी २०१२ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो ।






