काठमाडौं- गैरआवासीय नेपाली संघको नयां कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्ष गर्नु पर्ने कार्यहरुको योजना तर्जुमा गर्न आयोजित बैठक सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको भवनमा संघको निर्माणाधिन भवन, एनआरएन शंखमुल गार्डेन र लाप्राक नमूना वस्ती परियोजनाका बारेमा समीक्षा गरियो । यस अन्तर्गत ती परियोजनाहरुका कार्य प्रगति बारे ठेकेदार र परामर्श दाताबाट जानकारी लिइयो ।
दोश्रो दिन बिहीबार काभ्रे जिल्लाको धुलिखेल माउण्टेन रिसोर्टमा बैठक भएको छ । आजको पहिलो सत्रमा संघका सदस्यता परिचयपत्र, सूचना प्रणालीको डेटाबेस र विगतका समितिहरु, उपसमितिहरु र कार्यदलका कार्यहरु लगायतका संस्थागत र आन्तरिक विषयहरुमा छलफल भयो ।
दोश्रो सत्र र शुक्रबार संस्थाका नयां परियोजना तथा कार्यक्रमहरु तय गर्दै संचालन कार्ययोजना निर्माण गरेर बैठक समापन हुने छ । तीन दिन सम्म गरिएका छलफल तथा निर्णयको जानकारी दिन शुक्रबार १७ तारिख नेपाल पत्रकार महासंघको सभाकक्षमा दिउँसो ४:३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।






