काठमाडौं– प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फरकफरक मतपत्र हुनुपर्ने मागसहित सर्वोच्चमा दायर रिटको फैसला आज(बुधबार) आउने भएको छ ।
आजको यो फैसला अनुसार मंसिर १० र २१ गतेका लागि तोकिएको प्रनिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुने–नहुने निश्चित गर्नेछ । विपक्षीले चुनाव सार्ने षड्यन्त्र हुन थालेको बताउँदै आएका छन् ।
प्रतिनिधि र प्रदेशसभाका लागि एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै फरक मतपत्रको मागसहित राजपाका नेता सवेन्द्रनाथ शुक्लले दायर गरेको रिटमा सर्वोच्चले आज अन्तिम फैसला सुनाउन लागेको हो । सुनुवाई बुधबार ११ बजेबाट सुरु हुने सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।
नेता शुक्ललले फरक मतपत्र हुनुपर्ने र प्रत्यक्षतर्फका बन्द सुचि बुझाउने पनि समय कार्तिक ५ बाट सार्नुपर्ने माग रिटमा गरेका थिए । उनले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई विपक्षी बनाएका छन् ।
सो रिटप्रति बहस गर्दै असोज ३१ गते मंगलबार निवेदक र विपक्षीसँगको छलफलपछि सर्वोच्चले कार्तिक १ गते निर्णय सुनाउने गरी पेसी तोकेको हो ।
मंगलबार न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा पेशीका लागि राखिएपनि समयअभावका कारण बुधबारलाई सारिएको हो ।
गत असोज २३ गते नै प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासमा रहेको सो रिट पुन २४ गते ओमप्रकाश मिश्रको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तिम छलफलका लागि असोज ३१ मा बोलाइएको थियो ।
निवेदकको माग अनुसार सर्वोच्चले आदेश जारी भए मंसिर १० र २१ गतेलाई तोकिएको निर्वाचन मिति प्रभावित हुने निश्चित छ ।
निवेदकको माग अनुसार सर्वोच्चले निर्णय सुनाएमा छापिएका मतपत्र रद्ध गरेर पुन अर्को मतपत्र छाप्नुपर्ने बाध्यता आयोगलाई हुने भएकाले आयोगले मिति सार्न माग गर्ने निश्चित छ ।
त्यस्तो अवस्थामा सरकारले पनि निर्वाचन सार्न नै उपयुक्त हुने निर्णय गर्नेछ । तर, आयोगले मतपत्र छपाई गरिसकेकाले दलहरुसँगै परामर्शमा मतपत्रको डिजाइन समेत भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने आग्रह पटक पटक गदै आएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा र समानुपातिकतर्फ अर्को गरी दुईवटा मतपत्रको डिजाइन गरी छापिरहेको छ ।






