भोलिदेखि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुने

काठमाडौं- काठमाडौंमा असोज २३ गतेदेखि अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा हुने दुई दिने सम्मेलनमा पत्रकार, प्राज्ञिक क्षेत्र, नीति निर्माताले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका विविध पक्षबारे छलफल गर्ने छन् ।

व्यवस्थापिका संसद्का सम्माननीय सभामुख ओनसरी घर्तिमगरले उद्घाटन गर्नु हुने सम्मेलनमा पत्रकार, नीति निर्माता, प्राज्ञिक क्षेत्र, सरकारी अधिकारी, विकास साझेदार, नागिरक समुदाय लगायतको सहभागिता हुनेछ । कार्यक्रममा भारत, ब‌ंगलादेश, पाकिस्तान लगायतका देशका पत्रकार तथा विज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल हुनेछ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक व्यवस्थामा मात्रै लख्ने स्वतन्त्रता र सबैका आवाजले स्थान पाउन सक्ने भन्दै त्यसलाई प्रवर्द्धन गर्न मिडिया सम्नेलन गर्न लागेको बताउनुभयो ।

इन्टरनेशनल अलर्टका नेपालका प्रतिनिधि रविना श्रेष्ठले सम्मेलनले पत्रकारले सामना गरेका सुरक्षा चुनौतीलाई घटाउन, प्रेस स्वतन्त्रता र विविधताका लागि सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यो सम्मेलन नेपाल पत्रकार महासंघले इन्टरनेशनल अलर्टसँग सहकार्यमा सञ्चालित ‘अभिव्यक्तिको अधिकार : नेपालमा सञ्चार माध्यममा अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धन’ अन्तर्गतको कार्यक्रम हो ।