चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एटा जिप पुरिएको छ ।
मानवीय क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौंबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो भने बा १५ च ९३८१ नम्बरको स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको हो ।
माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई त्रिशूलीमा झारेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर बचेको प्रहरी उपरीक्षक थापाले बताए ।
मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै साँझ ७ः३५ बजे पहिरो खसेको हो ।






