बोनस बाँड्ने साउदी राजाको घोषणा

साउदी अरबका राजा सलमानले सरकारी कर्मचारी, सैनिक र विद्यार्थीहरुलाई बोनसस्वरुप दुई महिनाको तलब बराबरको रकम दिने घोषणा गरेपछि त्यहाँका जनतामा खुसी छाएको छ । राजा सलमानले सेवानिवृत्त कर्मचारीलाई समेत बोनस बाँड्ने घोषणा गरेका छन् । ‘साउदी अरबमाथि आफ्नोभन्दा जनताको बढी हक भएको’ भन्दै राजा सलमानले जनतालाई बोनसस्वरुप दुई महिनाको तलब बराबरको रकम दिने जनाएका हुन् ।
साउदी राजाले मन्त्रिमन्डलमा पनि ब्यापक हेरफेर गरेका छन् । उनले रक्षा, विदेश र तेल जस्ता महत्वपूर्ण मन्त्रालयमा पनि नयाँ व्यक्तिहरुलाई जिम्मेवारी दिएका छन् । राजा सलमानले मक्का मदिना र रियादका गर्भनर पनि परिवर्तन गरेका छन् । सलमान गत साता राजा अब्दुल्लाहको निधनपछि साउदी अरबको राजा बनेका थिए ।