चन्द्रौटा(कपिलबस्तु)– कपिलबस्तुको शिवराज नगरपालिकामा कांग्रेसभित्र चरम विवाद देखिएको छ । उम्मेदवारी दिने बेलामै देखिएको विवाद स्थानीय तहको दोस्रो चरणको चुनाव आउँन ४ दिन बाँकी रहँदासम्म उस्तै रहेको छ ।
विवादकै कारण शिवराज नगरपालिकामा कांग्रेसबाट उपमेयरमा उम्मेदवारी नै परेको छैन भने कांग्रेसले टिकट नदिएपछि जम्शेर अली मियाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आफूले कांग्रेसबाट टिकट नपाएपनि जनमत राम्रो रहेको र जित्ने दाबी गरे । दुई केटाकेटीको चुनाव चिन्ह पाएका उनले आफूले पार्टीलाई पैसा बुझाउन नसक्दा टिकट नपाएको समेत दाबी गरे ।
उनको उम्मेदवारी परेसँगै शिवराजमा कांग्रेस संकटमा परेको एक स्थानीयले बताए । कांग्रेसबाट उपमेयरमा उम्मेदवारी नपरेको शिवराजमा मेयरमा भने प्रेमबहादुर रायमाझीको उम्मेदवारी रहेको छ ।
यता कांग्रेसमा विवाद रहेकै बेला राप्रपामा भने उत्साह देखिएको छ । शिवराज गाउँपालिका राप्रपाको प्रभाव क्षेत्र भएकाले आफूले जित्ने राप्रपाबाट मेयरको उम्मेदवार बनेका अजय थापाले बताए । यस्तै राप्रपाले उपमेयरमा सविता चौधरीलाई उठाएको छ ।
यसैबीच एमालेबाट मेयरमा नेत्रराज अधिकारी र उपमेयर शिवकुमारी थारु उम्मेदार रहेका छन् भने माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल उपमेयरमा श्वेता गिरी रहेका छन् ।
कांग्रेसभित्र विवाद तथा राप्रपाको प्रभाव भनिएको यो क्षेत्रमा एमाले र माओवादी केन्द्रपनि कमजोर नरहेकाले प्रतिश्पर्धा रोचक बन्ने स्थानीयहरुको बुझाई छ ।






