उपनिर्वाचनमा गोप्य अनुगमन

बागलुङ, २५ चैत । आगामी शनिबार बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनको दुई तहबाट अनुगमन हुने भएको छ । निर्वाचन आयोगले बृहत् र सूक्ष्म तरिकाबाट अनुगमन व्यवस्था मिलाएको छ । उपनिर्वाचन स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउन अनुगमनलाई प्रभावकारी बनाइने निर्वाचन आयुक्त इला शर्माले बताउनुभयो ।
सहसचिवस्तरको बृहत् अनुगमन टोली र आयोगकै पदाधिकारी, निजामती र गुप्तचर निकायका कर्मचारी सम्मिलित सूक्ष्म अनुगमन टोली गोप्य रुपमा परिचालन हुने जनाइएको छ ।
“यो उपनिर्वाचनमा आयोगले सुक्ष्म अनुगमनको व्यवस्था गरेको छ, सार्वजनिक नहुने यस टोलीको सिधा सम्पर्क आयोगसँग हुन्छ”, शर्माले भन्नुभयो, “कुनै पनि घटना हुनासाथ त्यस टोलीले केन्द्रमा रिपोर्ट गर्छ, हामी तत्काल सम्बोध गर्छौं”, उहाँका अनुसार आयोगले पहिलो पटक यस्तो अनुगमन प्रणालीको व्यवस्था गरेको हो ।
त्यस्तो गोप्य अनुगमनकर्ताको टोलीले निर्वाचन अवधिभर र पछिको अवस्थाका बारेमा केन्द्रमा रिपोर्टिङ गर्ने जनाइएको छ । अनुगमनकर्ताको टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले कुनै पनि कदम चाल्न सक्ने शर्माले बताउनुभयो ।
“आचारसंहिता पालना नगर्ने र आचरण विपरीतका क्रियाकलाप गर्ने जो कोहीलाई हामी कारबाही गर्छौं, यसकै लागि सूक्ष्म तवरको अनगुमन व्यवस्था गरेका हौँ”, शर्माले भन्नुभयो, “कर्मचारी, दल र अन्य जोसुकैलाई जस्तोसुकै कारबाही हुन सक्छ ।”
उहाँले निजामती कर्मचारीले आचारसंहिता उल्लङ्घन गरेमा तुरुन्त सरुवा गर्नेदेखि अन्य कारबाही हुन सक्ने उल्लेख गर्नुभयो । आयुक्त शर्माले कर्मचारीले नै आचारसंहिता विपरीत कार्य गरेको भए कारबाहीका लागि सिफारिस गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह गर्नुभयो । आयोगले उपनिर्वाचनलाई ‘नमुना’ बनाउने बताइरहेको छ । केही नयाँ अभ्यास पनि यस उपनिर्वाचनमा भएका छन् ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पनि गोलाप्रथा गरेर मतदान केन्द्रमा खटाइएको छ । दुर्गममा जान नचाहने र आफ्नो पायक पर्ने स्थान रोज्ने प्रवृत्तिको अन्त्य गर्न यस्तो गरिएको हो । आयोगले यसबाट पनि निर्वाचनको निष्पक्षतामा थप टेवा पुग्ने विश्वास लिएको छ ।
मतदानको दिन आउन तीन दिन मात्र बाँकी रहँदा कर्मचारी मतदान केन्द्रतिर लागेका छन् । विद्युतीय मतदान उपकरणसहित ७३ किसिमका निर्वाचन सामग्रीसहित उनीहरु मतदान केन्द्र पुग्दैछन् । बिहीबार साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।