ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन निर्वाचित

ललितपुर– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्।

मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले जित हासिल गरेका हुन्। मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए ।

उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।

पहिलो चरणमा निर्वाचन भएका चार महानगरमध्ये प्रतिस्पर्धाका हिसाबले ललितपुर रोमाञ्चक रह्यो। किनभने नेपाली कांग्रेसले अग्रता लिइरहेको एकमात्र महानगर यही थियो। सुरुमा यहाँ एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई उछिनेका हुन्।