लण्डन । चितवनबाट बेलायतमा आएर बसोबास गर्ने चितवन निवासीहरुको संस्था चितवन एड ट्रष्ट क्याट युकेको च्यारिटी भव्यरुपमा संपन्न भएको छ।
ह्यारो फुटबल क्लबमा आइतबार साँझ आयोजित कार्यक्रममा आपत्कालिन सहयोगकालागि अक्षय कोष खडा गर्न सहयोग जुटाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गएको १४ वर्षदेखि मानवीय कामहरुमा सघाउँदै आएकोमा क्याट युकेको प्रशंसा गरे। उनले अक्षयकोषलाई व्यवस्थित गरी पारदर्शी हिसाबले त्यसलाई सन्चालन गर्न सुझाव पनि दिए।

क्याट युकेका अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष यादव श्रेष्ठले संस्थाले अहिलेसम्म गरेका कल्याणकारी कामहरुको विवरण प्रस्तुत गरेका थिए। एनआरएन युकेका उपाध्यक्षद्वय शेर सुनार तथा पुनम गुरुङ , काउन्सिलर लक्ष्य गुरुङ, समाजसेवी गायत्री श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना दिएका थिए।
कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले अमेरिकी राष्ट्रपति ट्रम्पको नक्कल गरेर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै गायिका सरिता गुरुङले चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन्।

कार्यक्रम सन्चालन गर्दै संस्थाका सल्लाहकार एबम कार्यक्रमक संयोजक शान्तविनोद लामिछानेले संस्थाले सञ्चालन गरिरहेका सामाजिक कार्यहरुलाई थप गतिका साथ अघि बढाउने लक्ष्यसहित आपतकालिन अक्षय कोष स्थापना गर्ने प्रयास गरिएको बताए ।
सन् २००४ मा स्थापित क्याट यूकेले चितवनको विकट तथा दुर्गम भेगहरुमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउनेदेखि चेपांगहरुको लागि आवास निर्माण, भरतपुर आंखा अस्पतालमा आंखा बैंक निर्माण, एम्बुलेन्स वितरण, भुकम्पमा राहत तथा सहयोग वितरण लगायतका कैयौं सामाजिक कार्यहरु गरिसकेको छ ।






