महाधिवेशन अघि नै राप्रपाको नेतृत्वमा सहमति, कमल थापा अध्यक्ष

काठमाडौं– महाधिवेशन अघि नै राप्रपाको नेतृत्वमा सहमति भएको छ । कमल थापालाई अध्यक्ष मान्न शीर्ष तीन नेता सहमत भएका छन् ।

अध्यक्षका दाबेदार मानिएका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा थापालाई सर्वसम्मति अध्यक्ष बनाउन तयार भएका हुन् । महाधिवेशन अगावै थापाको नाममा सर्वसम्मति भएको हो । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ ।

बुधबार साँझ चन्द निवासमा शीर्ष चार नेताको बैठकले सर्वसम्मति गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘एकता महाधिवेशनलाई पार्टीका लाखौं कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकहरुको चाहना र भावनालाई सम्मान गर्दै सहमतिको आधारमा सम्पन्न गर्न हामी प्रतिबद्ध छौं,’ चार नेताद्वार हस्ताक्षरित वक्तव्यमा छ, ‘पार्टी केन्द्रीय अध्यक्षको निर्वाचन समेत निर्विरोध गर्ने उद्देश्यका सथा हामीले महाधिवेशनमा कमल थापालाई अध्यक्ष पदमा समर्थन गर्ने सहमति कायम गरेका छौं ।’