प्रधानन्यायाधीश सुशीला कार्कीलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, वैशाख २२ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी शुक्रबार (आजै)बाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिएपनि त्यसको आधार स्पस्ट नभएको र संविधानको मर्म तथा भावनाअनुकूल नभएको कुरा सुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुंगो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजकै मितिबाट काम गर्न दिनू भनी व्यवस्थापिका–संसदको नाममा अन्तरिम आदेश जारी गरेको हो । रासस