जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी साधन रोक्नुपर्ने, नरोके कारवाही

काठमाडौं। काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक महाशाखाले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महाशाखाले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी पैदलयात्रुको सुरक्षाका लागि चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो । ट्राफिक प्रहरीले पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकासे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सवारी चालकलाई जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी रोकेरमात्र अघि बढ्न आग्रह गरे । उनले जेब्रा क्रसिङमा सवारी नरोक्ने चालकलाई कारवाही गर्ने चेतावनी दिए ।

यसैगरी आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने उनको भनाइ थियो । राजधानीमा सवारी साधनमा हर्न निषेध गरिएपछि ध्वनि प्रदूषणमा कमी आएको भन्दै ट्राफिक प्रहरीले त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले तयार पारेको चेतनामूलक श्रव्यदृश्य देखाइएको थियो ।