लन्डनमा प्यासिफिक एकेडेमीको सेमिनार सम्पन्न, एक सयभन्दा बढी को सहभागिता

 

image
लन्डन– नेपालमा पहिलोपटक पकाउने विधा (कुलिनरी) लाई केन्द्रित गरेर सञ्चालनमा आएको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले लन्डनमा सेमिनार आयोजना गरेको छ ।

लन्डनको सडबरी टाउनस्थित हिमालयन क्लबको सभाहलमा आयोजना गरिएको भेटघाट तथा अन्तर्क्रियामा एक सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले हस्पिटालिटी शिक्षाका विषयमा अन्तर्क्रिया गरेका थिए ।

सेमिनारमा एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसी, प्यासिफिक एकेडेमीका अन्तर्राष्ट्रिय परामर्श प्रमुख प्रेम सापकोटाले आफ्नो प्रस्तुति राख्दै हस्पिटालिटी शिक्षाका सम्भावनाबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप संयोजक कुल आचार्यले नेपालमा हस्पिटालिटीलाई केन्द्रित गरेर कलेज सञ्चालन गरेकोमा बधाई दिनुभयो ।

नेपाल पर्यटन बोर्डका बेलायतस्थित पर्यटन दूत पशुपति भण्डारीले नेपालमा पर्यटनको सम्भावना व्यापक रहेको उल्लेख गर्दै कलेजले पर्यटन क्षेत्रलाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएनए यूरोपका पूर्व संयोजक चिरञ्जीवी ढकाल, कांग्रेस नेता विश्वआदर्श पण्डित, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री आर.के. त्रिपाठी, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री लगायतले पनि धारणा राख्नुभयो ।

बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्केपछिका विकल्पकोरुपमा जानकारी दिन सेमिनार आयोजना गरिएको एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसीले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा लामो समयसम्म कार्यरत नेपालीहरुको समूहले काठमाडौंको मैतीदवीमा एकेडेमी सञ्चालन गर्नुभएको हो । प्यासेफिक अष्ट्रेलिययन अन्तराष्ट्रिय कुलिनरी सर्भिसबाट मान्यता प्राप्त संस्था हो ।

‘ऐंसेलुमा’ को म्युजिक भिडियो सार्वजनिक

कार्यक्रममा बेलायतमा सुटिङ गरिएको ‘ऐंसेलुमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रामकाजी राईको शब्द/संगीत रहेको गीतमा सुजाता काफ्लेले आवाज दिएकी छन् ।