काठमाडौँ, २४ चैत । नेकपा(माओवादी केन्द्र)ले सीमाङ्कनको विषयबाहेक अन्य विषयमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले सरकारले यसअघि दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई फिर्ता लिएर भाषा, नागरिकता, संविधानको धारा २७४ मा रहेको विषयलगायतमा अर्को संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
सीमाङ्कनको विषय हल गर्नका लागि केही समयसीमासहितको आयोग गठन गर्ने र आयोगको सिफारिसका आधारमा निर्णय गर्नेगरी जिम्मा दिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
नयाँ संशोधन प्रस्ताव दर्ता गराएपछि मधेसी मोर्चालेसमेत त्यसमा सहमति जनाउने र स्थानीय तहको निर्वाचनलाई थप सहज बन्ने निष्कर्ष माओवादी केन्द्रको छ ।
मोर्चाले गाउँपालिका र नगरपालिकाका अध्यक्ष तथा उपाध्यक्षले राष्ट्रियसभा सदस्य चयनमा मतदान गर्न पाउने व्यवस्था हटाउन आग्रह गर्दै आएको छ ।
प्रदेश इन्चार्जले उम्मेदवार छनोट गर्ने
बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटमा प्रदेश इन्चार्जलाई मूल जिम्मेवारी दिएको छ ।
प्रदेश इन्चार्जको सिफारिसमा महानगर, उपमहानगर तथा नगरपालिकाको उम्मेदवार छनोट गरेर सिफारिस गर्ने जिम्मेवारी दिएको छ । गाउँपालिका, नगरपालिकाको हकमा जिल्ला समितिले टुङ्ग्याएको नामलाई प्रदेश इन्चार्जले अन्तिम रुप पनि दिन सक्नेछ । माओवादीले केही दिन भित्रै ७४४ वटै स्थानीय तहको उम्मेदवार छनोट गर्ने जनाएको छ ।






