रिडी मेलामा घरेलु सामग्रीको व्यापार घट्यो

गुल्मी । भेडा पाल्ने र ऊन काट्ने जनशक्ति अभाव भएपछि राडीपाखी र कम्बललगायतका ऊनीको सामग्रीका लागि प्रख्यात मानिने रिडी मेलामा त्यस्ता सामग्रीको मूल्य बढेको छ । केही वर्षयता हातले बुनेका यस्ता घरेलु सामग्रीको मूल्य बढ्दा व्यापार कम हुन थालेको व्यवसायीले गुनासो गरेका छन् ।

माघेसंक्रान्ति मेलाको अवसरमा गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रमा लाग्ने रिडी मेला धार्मिक महत्वसँगै हिमाली भेगमा भेडाको ऊनबाट एक वर्षसम्म हातैले बुनेर तयार पारिएका राडीपाखी, काम्लो तथा बा“सका सुपा, डाली, सोली, ओखरको घा“जी, गु“ड र कन्दमूल व्यापारका लागि प्रख्यात मानिन्छ । तर पछिल्ला वर्षमा हिमाली क्षेत्रमा बस्ने जनशक्ति अभावसँगै पाल्पा, बुटवल, भैरहवालगायतका स्थानबाट आउने प्लास्टिकका सामग्री र व्यापारीका कारण तथा हातले बुनेका घरेलु सामग्रीको मूल्य बढ्दा व्यापार कम हु“दै गएको हातेसामग्रीका व्यापारीले गुनासो गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको रिडी मेलामा घरेलु सामग्रीको व्यापार घट्दै गएको व्यापारीको गुनासो रहेको छ । ‘सबैले हेर्दै महँगो भयो भन्दै छोड्दै गए,’ रुकुमको सेराबाट व्यापारका लागि रिडी आएका रामकुमारी बुढामगरले गुनासो गरिन् । उनले भनिन्,

‘हातैले बुन्ने हो, ऊन कात्ने मान्छे पाइ नै छोडे, पहिलेजस्तो छैन तर ग्राहकले महँगो भन्दै जान थालेपछि व्यापारसमेत कम हुने गरेको छ ।’

लगातार सात वर्षदेखि रिडीमा काम्लो बेच्न आउने गरेको बताउने बुढामगरले अघिल्लो वर्षदेखि रिडीमा व्यापार कम हुन थालेको गुनासो गरे । उनका अनुसार ऊनीका सामग्रीभन्दा बुटवलतिरबाट आएका फेन्सी सामानको बिक्रीले पनि आपूmहरूको व्यापार कमी आएको बताए ।

केही वर्ष अघिसम्म भेडा पनि प्रशस्तै हुने र ऊन काट्ने मान्छे पनि भेटिने भए पनि अहिले युवाहरू विदेशतिर लागेपछि गाउ“मा काम गर्ने मान्छे नै पाइन् छोडेको समेत रामकुमारीले राजधानी दैनिकसँगको भेटमा भने ।

करिब ५० ओटा कम्बल लिएर आएका उनले सस्तो दिएरै भए पनि शनिबारसम्म सबै सकेर गाउँ फर्किने बताए । उनले हातबाट तयार गरिएका ऊनका कम्बल १ हजारदेखि ३ हजारसम्म पर्ने गरेको समेत जानकारी दिए ।

बुढा मगरजस्तै लगातार ५ वर्षदेखि रिडी मेलामा राडीपाखी र काम्लो बिक्रीका लागि आउने गरेको बताउने रुकुमको रुकुमगाउ“का कुसुम बुढाका अनुसार अघिल्लो वर्ष सस्तोमा काम्लो बिक्री गरेर फर्केको बताए । अघिल्लो पटकको रिडी मेलामा सस्तैमा काम्लो बिक्री गरेर गरेकाले यस वर्ष थोरै मात्र लिएर आएको कुसुमले बताए । ‘दुःखअनुसारको पैसा पर्नै छोड्यो हजुर,’ कुसुमले भने, ‘पहिला पहिलाजस्तो बूढाबूढी पनि आउनै छोडे, हाम्रा सामानको मूल्य

पनि पर्नै छोड्यो ।’

हातैले बुन्ने सामग्री पुराना पुस्ताले मात्र मन पराउने र अहिलेका युवाले सामग्रीको महŒव नचिन्दा आप्mना उत्पादनले मूल्य पाउन छोडेको उनको पनि गुनासो रहेको थियो ।

सवारीसाधनमा राखेर आउ“दाजा“दा धेरै खर्च लाग्ने भन्दै व्यापारीहरू पिठ्यँुमै भारी बोकेर बिक्रीका लागि आउने गर्दछन् । रिडीको बगरमै खाना पकाएर खाने र बगरमै सुत्ने उनीहरूले खाना पकाउने भा“डादेखि आगो बाल्ने दाउरासमेत साथैमा ल्याएर आएका हुन्छन् । बाग्लुङको जलजलाबाट डाली, सुपा बेच्न आएका पूर्णबहादुर थापाले पनि गत वर्ष ल्याएका सबै सामग्रीहरू पहिलो दिनमै धेरै बिक्री गर्थेे तर यस वर्ष दुई दिनमा पनि थोरै मात्र बिक्री भएको बताए ।

तिन दिनसम्म हुने रिडी मेलामा घरेलु सामग्रीको खरिदबिक्रीमा मात्र झन्डै २० लाखभन्दा बढी रुपैयाँको कारोबार हुने व्यापारीहरूको अनुमान छ । एक जनाले १५ देखि ५० ओटासम्म कम्बल, राडीपाखी ल्याएका हुन्छन् । साइज हेरेर १ हजार रुपैंयाँदेखि ३ हजार रुपैंयासम्ममा ऊनीका सामग्री बिक्री हुने गर्दछन् । रिडी मेलामा यस्ता सामग्रीको बिक्रीबाट एक व्यापारीले २० देखि ५० हजारसम्म आम्दानी गर्ने गर्दछन् ।

माघे संक्रान्तिको अवसरमा लाग्ने रिडी मेलामा बाग्लुङको रिघा, जलजला, बोबाङ, पाण्डुखानी एवं रुकुमको तकसेरा, रुकुम गाउ“, सेरा, राकमकोटलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि एकसातासम्म पैदल हिँडेर उत्पादनकर्ता आफैँ रिडी बजारमा आउने गर्छन् ।