कञ्चनपुर घटनाबारे संसदमा ध्यानाकर्षण

भारतले क्षमा माग्ने वातावरण सिर्जना गर्न सरकारसँग माग

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको सम्बन्धमा बैठकमा सबैजसो दलका सांसद्ले गम्भीर ध्यानाकर्षण गराउँदै निन्दा गरेका छन् ।

बैठकको विशेष र शून्य समयमा सार्वभौम मुलुकको भूमिमा प्रवेश गरेर हस्तक्षेप भएकाले भारत सरकारसँग कुटनीतिक माध्यमबाट संवाद गरी समाधान खोज्न सांसद्हरुले माग गरे । भारत सरकारले क्षमा माग्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) का अग्नि सापकोटाले नेपाल सानो मुलुक भए पनि यसको आफ्नै स्वाभिमान भएकाले राष्ट्रिय अस्मिताको रक्षामा सरकार पछि हट्न नहुने र भारतीय पक्षसँग स्पष्ट जवाफ माग्नुपर्ने बताए । उनले मृतक गौतमलाई योद्धा घोषणा गर्न पनि माग गरे ।

नेकपा (एमाले) का युवराज ज्ञवालीले कञ्चनपुर र सप्तरी घटनाबारे सरकारले सदनलाई सत्य तथ्य स्पष्ट पार्न ध्यानाकर्षण गराउनुपर्ने बताए । उहाँले स्थानीय तहको निर्वाचन नगराउन देशमा यस्ता घटना गराइएका त होइनन् भन्ने प्रश्न गरे ।

सोही पार्टीका केशवप्रसाद बडालले कञ्चनपुर घटनामा भारतीय पक्षले माफी माग्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले सिमानामा बस्ने नागरिक हरेक दिन भारतीय सुरक्षाकर्मीबाट प्रताडीत हुनुपरेको सन्दर्भमा सरकारले किन सुनुवाइ गर्दैन भनी प्रश्न गरे ।

नेपाली काँग्रेसका तारिणीदत्त चटौत, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापामगर, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चाका मीना पुन, सांसद्हरु रुक्मिणी चौधरी, श्यामकुमार श्रेष्ठ, गीता राणा, तेजुलाल चौधरीलगायतले सो विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।