दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोकिन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा बिहीबार आयोजना गरेको चियापान समारोहमा उहाँले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो– “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।”

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहनुभएका राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताउनुभयो ।