काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनका विषयहरु नागरिकता, भाषा राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाईले पारित गर्ने सहमतिका साथ राप्रपा सरकारमा गएको स्पष्ट पारेका छन् ।
शुक्रबार काठमाडौमा भएको साक्षात्कारमा मन्त्री गिरीले भने,‘अहिले तीनवटा विषयमा मात्रै हाम्रो सहमति छ, यी तीनवटा विषयहरुलाई दुई तिहाईले पारित गर्ने तर, प्रदेशको सिमांकनको विषय भने स्थानीय तहको निर्वाचनपछि मात्रै टुँगो लगाउने सहमति भएको छ, यही सहमति अनुसार हामी सरकारमा गएका हौं ।’
साक्षात्कारमा मन्त्री गिरीले संविधान कार्यान्वयन गर्न विभिन्न जटिलताहरु रहेको बताउँदै उक्त जटिलताहरु पार गर्दै अघि बढ्न वर्तमान सरकार सक्षम रहेको जिकिर गरे ।
उनले भने,‘संविधान कार्यान्वयन गर्नको लागि हामी सबै जिम्मेवार बन्नुपर्छ, हामी सरकारमा जानुको प्रमुख दुई प्रतिबद्धताहरु छन्, पहिलो चुनावको सुनिश्चितता गर्ने र दोस्रो संविधान कार्यान्वयन गर्ने हो।’
उनले सिमांकनको विषय पनि चुनावपछि हल गर्नेगरि अघि बढ्नुपर्नेमा आफूहरु प्रष्ट रहेको बताए ।
उनले निर्धारित मिति बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरे ।
भने,‘हामीलाई सरकारमा आउनको लागि बारबार आग्रह गरिएको थियो, कसरी अघि बढ्ने भन्नेबारेमा एउटा समझदारी भयो, त्यही अनुसार हामी सरकारमा गएका छौं, अब चुनाव हुँदैन कि भनेर कसैलेपनि आशंका गर्नुहुँदैन्, हाम्रो उपस्थितिलेपनि चुनावको सुनिश्चितता गरिसकेको छ ।’
त्यस्तै उनले आफूहरु मुलुकमा हिन्दूराष्ट्र पूर्नस्थापना गराउने अभियानमा लागेको समेत जिकिर गरे । मन्त्री गिरीले भने,‘९४ प्रतिशत हिन्दू रहेको देशमा हामी जसरीपनि हिन्दूराष्ट्र बनाएरै छाड्छौं, हाम्रो सम्पूर्ण तनमन यतातिर छ ।’
उनले पर्यटन मन्त्रालयमा धेरै चूनौतिहरु रहेको स्विकार गर्दै आगामी दिनमा सबै खाले चूनौतिहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको जिकिर गरे । उनले नेपाल एयरलाईन्सलाई युरोप, अमेरिकासम्म पुर्याउने उद्धघोष समेत गरे ।






