काठमाडौँ –नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौँवासीले भोग्नु परेको खानेपानीको समस्याको अन्त्य गरेर छाड्ने उद्घोष गरेका छन् । शुक्रबार खानेपानी तथा सरसफाई मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।
शाहीले मेलम्ची खानेपानी काठमाडौँवासीको आशाको सपना भएकाले त्यो सपना पूरा गर्न प्रतिबद्ध रहेको समेत बताए ।
उनले भने,‘अब मेलम्ची असोजमा होइन असारमा ल्याउने कार्य योजना हुनुपर्छ ।’ धूवाँ र धूलोले जनताको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै शाहीले यसबाट मुक्ति दिलाउन प्रयास गर्ने पनि बताए । गाउँ गाउँमा खानेपानी पुर्याउने कामको गतिलाई १० गुनाले बृद्धि गर्न समेत कर्मचारीलाई मन्त्री शाहीले निर्देशन दिए ।
यस्तै शाहीले पर्यटन मन्त्रालयबाट विदाई हुंदै आफूले बसाएको थिति र सुधारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । पर्यटन मन्त्रालयका कर्मचारीलाई इमानदार भएर उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै देशको शिर निहुरिने गरि कुनै पनि काम नगर्न सुझाव दिए ।






