ब्लड बैंक स्थापनाका लागि गुल्मी जिल्ला समाज यूकेद्वारा ९ लाख सहयोग

गुल्मी– गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापनाका लागि गुल्मी जिल्ला समाज यूकेले ९ लाख रुपैयाँ सहयोग गरेको छ ।

तम्घासमा आइतबार एक विशेष कार्यक्रम आयोजना गरी समाजले बेलायतमा संकलन गरेको ९ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  सांसद कृष्ण छन्तेल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, प्रहरी उपरीक्षक भोला रावल, स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक दिग्विजय सुवेदी, जिल्ला अधिकारी मित्रमणि खनाल, प्रमुख अनुसन्धान अधिकृत प्रभू मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भूसाललगायतका अतिथिको उपस्थिति थियो ।

गुल्मी रेडक्रसका अध्यक्ष अनुप श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष राम गलामी, उपाध्यक्ष फणिन्द्र भट्टराई, उपाध्यक्ष राजन खरेल, महासचिव शिव भण्डारी, पूर्वउपाध्यक्ष एवं सल्लाहकार विनोद ज्ञवाली र कार्यकारी सदस्य राजु मल्लको उपस्थिति थियो ।

यसैगरी समाजले गुल्मीस्थित आशा अपांग केन्द्रका लागि तीन लाख रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको छ । केन्द्रका अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष गंगा रायमाझीलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।