अपडेट: मनोज ज्ञवालीको मृगौलाको सफल प्रत्यारोपण

काठमाडौं– दुवै मृगौला खराव भएर उपचाररत गुल्मीका मनोज ज्ञवालीको मृगौलाको सफल प्रत्यारोपण भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ज्ञवालीको बुधबार मृगौलाको सफल प्रत्यारोपण भएको उनका बाबु बाबुरामले जानकारी दिए । २२ वर्षीय मनोजलाई आमा मन्दिराले एउटा मृगौला दिएकी हुन् ।

गुल्मी जिल्लाको हँसरा ४ घर भई हाल जिल्ला पाल्पा, ता. न. पा. १४, प्रभाष निवासी मनोज ज्ञवालीको विगत १० वर्षदेखि मृगौला खराब भएर स्वदेश तथा विदेशमा उपचार भइरहेको थियो ।

बुवा बाबुरामका अनुसार अध्ययनमा तीक्ष्ण रहेका मनोज रुपन्देही, बुटवल स्थित सीसीटी कलेजमा पूर्ण छात्रवृत्तिमा बीबीए अध्ययनरत छन् ।

मनोजलाई मंगलबारमात्रै समाजका महासचिव शिव भण्डारी, पूर्वउपाध्यक्ष एवम् सल्लाहाकार विनोद ज्ञवाली र प्रतिनिधि दुर्गा ज्ञवालीले संयुक्तरुपमा ३ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

गुल्मी जिल्ला समाज युकेबाट ज्ञवालीको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग संकलन अभियानमा गुल्मी जिल्ला समाज यूके कार्यसमितिका सदस्यहरु विष्णु ज्ञवाली, बरुण भण्डारी, लक्ष्मण न्यौपानेले विशेष पहल गरेका थिए ।