‘क्षेत्रीय विकासको अवधारणा राजा वीरेन्द्रले ल्याएका हुन्’

काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन राजा वीरेन्द्रले राज्याभिषेकका क्रममा विश्व समुदायसामु नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राखेको प्रस्ताव राष्ट्रको सुरक्षाका लागि महत्वपूर्ण कूटनीतिक प्रयास भएको बताउनुभएको छ ।

स्व राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको आज उद्घाटन गर्दै अध्यक्ष थापाले सो प्रस्तावको विश्वका ११६ राष्ट्रले समर्थन जनाएको र त्यसले मुलुकको राजनीतिमा दीर्घकालसम्म प्रभाव पारेको भए पनि पछिल्लो समयमा आएको उतारचढावले सो विषय अहिले ओझेलमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “राजा वीरेन्द्रले देशको समृद्धिका लागि क्षेत्रीय विकासको अवधारणा ल्याएको हो । जनमत सङ्ग्रहको अभ्यास अर्को उदाहरण हो ।”

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मुलुकको भू–राजनीतिक अवस्थालाई बुझेर तत्कालीन राजाले दुवै छिमेकी राष्ट्रसँग सन्तुलित विदेश नीति अपनाएको स्मरण गर्नुभयो ।

इतिहासविद् डा सुरेन्द्र केसीले मुलुकको विकासमा राजसंस्थाले पुर्‍याएको योगदानको सराहना गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा शिक्षाको पहुँच विस्तार गर्ने कार्यमा राजा वीरेन्द्रको उल्लेख्य योगदान रहेको बताउनुभयो ।