एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव : देउवा

इटहरी– कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमालेसँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको दाबी गरेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले अघिल्लो पटक संविधान संशोधनपछि उब्जिएका असहज परिस्थितिको विश्लेषण गर्दै यसअघि नै पुन: संविधान संशोधन गर्ने प्रस्तावमा मधेसवादी दल तथा अन्य आदिवासी जनजातिलगायतका क्षेत्रबाट अडान दोहोरिएपछि एमालेसँग संशोधनको सहमति बनेको दाबी गरे ।

सभापति देउवाले आफैंले बनाएको संविधानका विषयमा उब्जिएका तिक्ततालाई मिलेर समाधान गराउनै पर्ने बाध्यात्मक अवस्था रहेको दोहोर्‍याए ।

संविधानमा व्यवस्था भएअनुसार तोकिएकै समयमा तीनवटा निर्वाचन गर्न नसके संविधानको औचित्य समाप्त भई देश असफल हुने अवस्थाबाट जोगाउन पनि सवै राजनीतिक दल एकठाउँमा नउभिई सुखै नभएको उनको भनाइ थियो ।