संविधान संशोधनमा एमालेले पनि सहमति जनाउँछः प्रधानमन्त्री

चितवन– प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रक्रियामा एमाले कुनै पनि हालतमा सहमत हुनुपर्नेमा जोड दिएका छन् ।
गृहजिल्ला चितवनमा बुधबार बिहान पुगेका प्रचण्डले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै एमाले संशोधनमा प्रक्रियामा सहमतिमा आउने बताए ।

उनले मधेसको समस्या सम्बोधनका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै दशैं अघि नै संशोधन प्रस्ताव संसदमा लगिने बताए ।

मंगलबारसाँझ मात्रै पनि मधेसी मोर्चासँगको बैठकमा संविधान संशोधन प्रस्ताव छिटै संसदमा लगिने सहमति भएको पनि सो क्रममा उनले जानकारी दिए ।

यस्तै आगामी २०७४ चैतभित्र कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेको भन्दै प्रचण्डले त्यसको आवश्यक तयारीका लागि सरकार जुटिरहेको बताए ।

उनले आफ्नो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सुधार भएको दाबी समेत सो अवसरमा गरे ।