काठमाडौं– चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङको नाम प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयले नयाँ चिनियाँ राजदूतका नाममा सहमति दिन आवश्यक प्रक्रिया अघि बढाइसकेको बताइएको छ । नयाँ राजदूत नोभेम्बर महिनाभित्र नेपालमा कार्यभार समाल्न आउने बताइएको छ ।
प्रस्तावित राजदूत यू हाल इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत छिन् । एसिया मामिलामा जानकार ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ यू नेपालमा राजदूतका रूपमा आउन लागेकी हुन् । उनी सन् १९८८ मा सहचारीका रूपमा चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागमा प्रवेश गरेकी थिइन् ।
यूले हालका चिनियाँ राजदूत उ चुन्ताईलाई प्रतिस्थापन गर्नेछिन् । राजदूत उ नोभेम्बरमा स्वदेश फर्किने बताइएको छ । उनी सन् २०१३ मार्च ७ मा नेपालका लागि राजदूत बनेर आएका थिए । चीन र नेपालको सम्बन्ध निकट बनाउन राजदूत उले भूमिका निर्वाह गरेका छन् ।
नेपाल सरकारले केही दिन अगाडि चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्य सचिव लिलामणि पौडेलको नाम सिफारिस गरेको छ । उनको संसदीय सुनुवार्य हुन वाँकी छ ।
नयाँ संविधान जारीपछि नेपाल–भारत सम्बन्धमा दरार देखिएपछि नेपाल–चीन निकटता बढेको रुपमा हेरिएको थियो ।






