- शिव भण्डारी
काठमाडौं– उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे बुधबार बेलायत प्रस्थान गरेकी छन् ।
महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा नोभेम्बर ८ र ९ मा लन्डनमा महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन तुम्बाहाङ्फे बेलायत प्रस्थान गरेकी हुन् ।
बेलायत प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लन्डन नेपाल न्यूज डट कमलाई विशेष अन्तर्वार्ता दिंदै तुम्बाहाङ्फेले औपचारिक/अनौपचारिक फोरमहरुमा नेपालको संसदीय व्यवस्था, महिलाहरुको उपस्थितिलगायतका विषयमा छलफल गर्ने बताइन् ।
तुम्बाहाङ्फेले बेलायतमा रहेका नेपाली तथा ब्रिटिश गोर्खाका समस्याहरु सुन्नेछिन् ।
सम्मेलनमा उपसभामुख तुम्बाहाङ्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम रहेका संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनले सम्मेलन सकिएपछि पनि नेपाली समूदायले गर्ने कार्यक्रममा सहभागिता जनाउनेछिन् ।
लन्डनस्थित नेपाली दूतावासले पनि उपसभामुखको सहभागिता रहने केहि कार्यक्रमहरु तय गरिसकेको जनाएको छ ।
नोभेम्बर १० तारिख शनिबार बिहान भिजिट नेपाल २०२० को प्रबर्द्धनका लागि एक उच्चस्तरीय समिति घोषणा गर्न दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख सहभागी हुनेछिन् । त्यस्तै, ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा नोभेम्बर १३ को साँझ दूतावासमै हुने नेपाल डेभलपमेन्ट कन्फरेन्समा पनि उनको सहभागिता रहनेछ ।
केही साताअघि नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सिंहदरबारस्थित उपसभामुखको कार्यालयमै पुगेर उक्त सम्मेलनको लागि निमन्त्रणा गरेका थिए ।






