संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नेतृत्वले कुखुरा जस्तै भूईंमा ओर्लिएर खोर्सिने नभई चिलजस्तो माथि उठेर निकास दिनुपर्ने बताएका छन् ।
संविधानसभाको शुक्रबारको बैठकमा सम्वाद समितिको प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै भट्टराईले भने-‘एक अर्काप्रति दाउपेच गरेर होइन, कसरी निकास दिन्छौं भनेर जनतालाई विश्वास दिलाउनुपर्छ ।’
यतिबेला कित्ताबन्दी गरेर मुलुकलाई अर्को द्वन्द्वमा फर्काउनेतिर नभई सबैलाई समेटेर लैजान सक्ने ऋषिमन भएको नेता चाहिएको उनले बताए ।
एमाले अध्यक्ष केपी ओली जस्तो अडान लिने नेता चाहियो भन्ने माग भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले भने-‘युद्ध र द्वन्द्वकालमा एकप्रकारको ‘डिक्टेटोरियल’ अधिकार भएको नेतृत्वको अपेक्षा गर्छ इतिहासले । तर, शान्तिपूर्ण द्वन्द्वोत्तर कालमा विभिन्न पक्षलाई सम्बोधन गरेर लिएर जाने, समन्वकारी भूमिका निर्वाह गर्ने र ऋषिमन भएको नेतृत्वको आवश्यकताको माग गरिएको हुन्छ ।’
श्रीलंकाको उदाहरण दिँदै भट्टराईले भने-‘केही वर्षपहिले हतियारधारी शक्तिलाई दमन गर्ने क्षमता प्रदर्शन गर्नसक्ने राष्ट्रपतिले जुनखालको लोकप्रियता हासिल गरेका थिए, अहिलेको चुनावमा उनी पराजित भए । त्यसैले युद्धकालमा जुन खालको भूमिका निर्वाह गर्छ त्यस्तो नेतृत्वले शान्तिकालमा त्यही खालको तरिकाले गयो भने उसले सफलता हासिल गर्दैन, जनताले त्यसलाई तिरस्कार गर्छन भन्ने कुरा श्रीलंकाको पनि उदाहरण छ ।’
सहमति नजिक छौं
यसअघि ९ महिनासम्म भएको भएको छलफल भन्दा पछिल्लो पटक चार दिन उपलब्धीमूलक भएको भन्दै डा. भट्टराईले धेरै विषयमा सहमति नजिक पुगेको बताए ।
उनका अनुसार प्रमुख दलहरुबीच न्याय प्रणालीमा सहमति भइसकेको छ भने निर्वाचन प्रणालीमा मिश्रतिमा सहमति भएको छ । तर, समानुपातिक र प्रत्यक्षको प्रतिशत मिल्न बाँकी छ ।
संघीयतामा पनि दलहरु सहमति नजिक पुगेको सभापति डा. भट्टराईले जानकारी दिए । अघिल्लो सविधानसभाको राज्य पुनःसंंरचना समिति र आयोग तय गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधारका साथै एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जाति र भाषालाई प्रदेश दिन सकिन्छ भन्नेमा शीर्ष नेताहरुबीच सहमति भएको उनले संविधानसभालाई जानकारी गराए ।






