काठमाडौं–प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान दिवस अलग्गै मनाउने निर्णय गरेको छ ।
एमालेले शनिबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी असोज ३ गते जुलुससहित काठमाडौको वसन्तपुरमा संविधान दिवस मनाउने जानकारी दिएको हो ।
सरकारले असोज ३ गते विहान सैनिक मञ्चमा संविधान दिवसको कार्यक्रम राखेको छ । संविधान दिवस अन्र्तगत माइतीघरस्थित शान्तिवाटिकामा भेला भएर वसन्तपुर जाने र त्यहाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।
एमालेका महासचिव इश्वर पोखरेलले आफ्नो संविधान आफैं बनाउने नेपाली जनताको आधा शताब्दी लामो आकांक्षा र संघर्षको परिणामस्वरुप संविधान जारी भएको एक वर्ष पुगेको खुशीयालीमा पार्टीले संविधान दिवस मनाउने निर्णय गरेको बताए ।
संविधानप्रति असन्तुष्ट मधेशवादी दलहरुले संविधान दिवसको दिन कालो झण्डा प्रदर्शनको कार्यक्रम राखेकामा एमाले महासचिव पोखरेलले आफूहरु झडप गर्ने पक्षमा नरहेको तर राष्ट्रिय दिवसको दिने हुने विरोध प्रदर्शनको जनस्तरबाट अवज्ञा हुने बताए ।
संविधानप्रति असन्तुष्ट मधेशवादी दलहरुको मोर्चाले माइतीघर मण्डलामा कालो झण्डा प्रदर्शन गरी असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ ।






