लन्डन– केम्पटेन पार्क रेस कोर्समा भएको नेपाली मेलामा सिंगो नेपालको चित्र देखियो । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने केम्पटेन पार्क रेस कोर्समा आइतबार हजारौं नेपाली उपस्थित थिए, त्यो पनि जातीय पोसाकमा । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।
बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आ–आफ्ना झाँकीमा प्रस्तुत भए । ती झाँकीले विभिन्न जातजातिका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन राति अबेरसम्म रहेको थियो ।
कर्यवहाक राजदूत शरदराज आरनले प्रवासमा हुने नेपाली मेलाले नेपाली मौलिक कला संस्कृति र पहिचान स्थापित गर्न ठूलो भूमिका निर्वाह गर्ने बताए ।
दूतावासको सहयोगमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । मेलामा यसपटक विदेशी कुटनीतिज्ञहरुको पनि उल्लेख्य सहभागिता रह्यो । बेलायती नेताबाहेक बोस्निया एण्ड हर्जगोभिना, सेनेगल, म्यानमार, गुयना ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मानिया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका राजदूत र वरिष्ठ कुटनीतिज्ञहरुले मेला नजिकबाट अवलोकन गरे ।
तमुहरुको ट्होटे होस् वा लिम्बुको च्याब्रुङ । कौरा र सोरठी सबै मेलाका आकर्षण थिए । मेलामा ३१ वटा झाँकी प्रदर्शन भयो । युवाहरुका ५ वटा ब्यान्डले पनि गीत संगीत प्रस्तुत गरे । उक्त अवसरमा एकहजार एक सय पाउण्डको एम्बासडर कप लमजुङ समाज यूकेले जित्यो ।
झाँकी र नृत्य दुवै प्रस्तुत गरि उत्कृष्ट हुनेलाई उक्त अवार्ड दिइएको हो । खाना र च्यारिटीका स्टल, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्रले पनि थप आकर्षण थिए मेलाका ।
मेला अत्यधिक सफल भएको तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले जानकारी दिए ।
महासचिव हरि गुरुङले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा मेला संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चोहान, नेपालका सांसद डा। गणेश गुरुङ लगायतले मेलाको शुभकामना दिए ।






