आइ एल आर केटी

nepali1

‘लीली यु ह्याभ टु नो योर स्पीड लिमीट,’ ६० माइलको तीब्र गतिमा ब्राइटन बीचतिर कुदिरहेको हाम्रो कारभित्र कृष्ण अंकलको आदेशले थोरै ब्रेक लगाइदियो । एम२३ को फराकिलो बाटोमा मलार्इ भने लिलीले अझै कुदाइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो तर चाहेजस्तो कहाँ पो हुन्छ र । मेरो मनको भित्री इच्छा त्यही स्लो गतिमा गुडिरहेका गाडीको टायरमुनि बलि चढ्दै थियो ।

अस्तिमात्रै अंकलसित यो समरमा ब्राइटन जाने सल्लाह गरेका थियौं । आन्टीको अनुमति बिना नै अंकलले मेरो प्रस्तावलार्इ पहिलो पटक सहर्ष स्वीकार गर्नु भएको थियो । यहि सप्ताहन्तलार्इ हामीले योजना बनाएका थियौं !

शनिबार, बिहानै घरबाट चिटिक्क परेर ‘ब्राइटन बीच’ जान निस्के । करिब साढे सात बजे अंकलको घरको ढोकाको घन्टी बजाउन म हाजिर भइसकेको थिए । हल्का चिया नास्ता गरेर बिहानको साढे आठ बजे हामी तयार भएर चार्लटनबाट निस्किसकेका थियौं ।
फेम्ली फ्रेन्डली ‘भक्सौल मेरिभा’ कारमा म, कृष्ण अंकल, आन्टी, छोरी लिली अनि बाबुसित पाँच जना चढ्यौं । अंकलले सधै ड्राइभ गर्नुहुन्थ्यो । यसपाली नानुलार्इ ‘लौ लंग ड्राइभ गर’ भनेर दिनुभयो । उसको कुशलता र सिकाइले एक निपुण चालक हो भन्ने कुरा सिद्द गरिरहेको थियो । उ परिपक्व ड्राइभर जस्ती लाग्थी ।

डेढ घन्टाको एकहोरो यात्रापछि हामी गन्तब्यमा पुग्यौं । लीलीले ‘सि-फ्रन्ट’को ‘आउटर जोन’मा कारको घच्च्याक ब्रेक लगाइ । अनि ‘पे एन्ड डिस्पले’मा पाँच पाउन्ड बिस पेन्स पे गरेर कार पार्किंगमा लगाइ ।
अन्टी ठुस्स पर्नुभाथ्यो । अंकलको मूड पनि खासै फ्रेस लागेको थिएन । तर आफ्नो मनको उदासीलार्इ अंकलले हाम्रो सामु नदेखाउने दुष्प्रयास गरिरहनुभएको थियो । म भने अंकल र अन्टीको यो तिक्तताले हाम्रो पूरै भ्रमण बेकार गर्दिने आशंका काट्न लागिसकेको थिएँ । यतिबेला पति पत्निको त्यो झगडाको ठाडो असर परेको तेस्रो ब्यक्ति मै थिएँ । आन्टीको मूड फ्रेसको लागि मनमनै कामना नि गरे ।
लीली मेरी प्यारी बहिनी हो । उमेरको खासै अन्तर नभएकोले हाम्रो सम्बन्ध साथीको जस्तै थियो । लीलीले यहि अगस्ट ५ गते मात्र आफ्नो २४ औं बर्थडे मनाएकी थिइ । घरमा रमाइलो जमघटका बीच मनाएको उसको बर्थडेमा मैले उसलार्इ गिफ्ट दिन भ्याइरहेको थिइन् । केक खान राति १ बजे पुग्दा उ ठुस्स परेकी थिइ । उसले म सामु केहि कुरा गर्ने बाहना नपाउँदा गिफ्ट डिमान्ड गरिहाल्थी, कहिलेकाहिँ त एक दुर्इ वर्ष अगाडिका पेन्डिंग लिस्ट पनि हुन्थे ।
हामी पेबल बीचको बाफिलो जमिनमा प्रवेश गरिसकेका थियौ । गर्मी सारै थियो । मोबाइलमा तापक्रम चेक गरें २८ डिग्री रहेछ । हामीलार्इ उखरमाउलो भइसकेको थियो ।

कपडा चेन्ज गरेर हामी डुबुल्की मार्नलार्इ तयार भैरहेका थियौं । बावु भने एकचोटी नुनिलो पानीमा डुबेर बाहिर निस्किसकेको रहेछ । यत्तिकैमा ठूलो स्वरमा फोनको घन्टीले हाम्रो ध्यान भंग गर्यो । हामी सबैले आइफोन बोकेका थियैं । फोनमा घन्टी बज्दा हामी सबैका कान ठाडा भए । फोनको बेवास्ता किन्चित पनि गर्ने बानी थिएन । सबैले लुगाले छोपेर राखेका मोबाइल फोन नियाल्न थाल्यौं । यतिबेलासम्म फोनको घन्टी काट्टिसकेको थियो । मैले फोन चेक गरें,ब्राइटनेस शुन्य गरेर राखेको फोनमा बाहिरको उज्यालोले केहि पनि देखिन । बुढी औंलाले ब्राइटनेस बढाँए । अहँ ! त्यो कल मेरो थिएन ।
अंकल/आन्टीले पनि चेक गर्नुभयो । उहाँको पनि थिएन त्यो मिस्ड कल । यत्तिकैमा लीलीको आवाज आयो, ‘ए उषाको फोन रहेछ ।’ लीलीले तुरुन्त कल ब्याक गरी । कल गर्न जाँदा उ हामीभन्दा केहि पर पुगेकी थिइँ । उमेर चढिसकेका केटीहरु आजकाल प्रसनल लाइफमा नि स्पेस खोज्ने भएर होला । प्राय: फोन गर्न एकान्त नै खोज्छन । यत्तिकैमा लीली उफ्रेर खुशी भइँ । हामी सबै उसैपट्टी हेर्न लाग्यौ । यस्तो लाग्दै थियो उसले आज ठुलो खुशी भेट्टाएकी छ ।

‘के भयो नानी …?’ आन्टीले मनको खसखस धेरैबेर राख्न सक्नुभएन । उसले पनि उफ्रदै भनि, ‘मामु उषा पनि आज यहिं छ रे ।’ यति भन्दै गर्दा उ बुरुक्क उफ्रेकी थिइ खुशीले । तर हामी त्यति नै खुशी हुनुपर्ने आवश्यकता नदेखेर होला उसको कुरा सुनिमात्र रह्यै । लीलीको निम्तोलार्इ नाइँ भन्न नसके झैं गरेर उषाहरु पनि त्यही टुप्लुक्क आइपुगे ।
नमस्ते साटासाटपछि हामीलार्इ पानीमा डुब्न जान हतार भइसकेको थियो । विस्तारै समुन्द्रको रसपानलार्इ अघि बढिरहेका हाम्रा पाइला, ढुंगे बलौटे माटोले भतभति पोलिरहेका थिए । यत्तिकैमा लीलीले हातको फोन अघि आफ्नो ब्यागमा राख्न भुलेकी थिइँ । फर्केर गइँ । आइफोन सिक्स थियो, उ पनि सारै माया गर्थी त्यो फोनलार्इ । यतिन्जेल म उसलार्इ वेट गरिरहे । उषाहरु भने किनारा सामु पुगिसकेका थिए । दौडेर आइकी लीलीले मलार्इ जिस्काउँदै भनि, ‘दाइ उषा राम्री छ । मन पर्न सक्छ हेर्नु ल ।’ उसले मसँग यस्ता जिस्कने र जिस्काउने कुरा नियमित नै गर्थी त्यसैले त्यो कुराले मनमा त्यति तरंग ल्याउनुपर्ने केहि थिएन । वा भनौं म त्यति सिरियस बनिन ।

सबैजनालार्इ असाध्यै राम्रो राम्रो स्विमिंग गर्न आउँदो रहेछ । म पनि पौडी खेल्न सिपालु थिएँ,उतिखेर गाँउमा भागीभागी पौडी खेल्न गएको आज बल्ल काम लाग्दै थियो । त्यतिखेरको गल्ती आज कुशलतामा बदलिरहेको थियो । हामी रमाइलो गरिरहेका थियौं । लीली र उषाहरु पानीले एकअर्कालार्इ छ्याप्दै खेलिरहेका थिए । भाइले भने उनीहरुतिर आफ्ना कोमल हातले पानीका फोहरालार्इ फ्याँक्दै जिस्काइदिएछ । भाइ र म सँगै थियौं । विचरा सात बर्षको फुच्चेलार्इ तीन-तीन जना केटी मिलेर खुब सताइरहेका थिए । भाइ आत्मसमर्पणको भावमा मसँग टाँसिन आयो । उनीहरुले यतिन्जेल पनि उसलार्इ छ्याप्न छोडेका थिएनन् । भाइ रुन लाग्यो । उसको रुवाइले एउटा सहयोगको याचना गरिरहेको थियो । अब त्यो चुनौती त्यो फुच्चेलार्इ मात्र थिएन मलार्इ पनि थियो । उनीहरुले मलार्इ पनि छ्यापेका थिए । बाबुलार्इ मेरो घुँडाबाट पछाडि राखेर मैले उनीहरुको प्रतिवाद गर्न लागे ।

कहिलेकाहिँ जिम जाने मेरा बलिष्ठ पाखुराहरुले फालेको पानीका फोहरा सामु तिनीहरुको केहि चलेन । मैले केही मिनेटमै उनीहरुलार्इ निस्तेज गराएर त्यहाँबाट भगाएको थिएँ । बाबु भने विजयको यस पावन घडीलार्इ अट्टाहास हाँसोको माला पहिराइदिएर सेलिब्रेसन गर्दै थियो परैसम्म पुगेर ।
करिब साढे चार बजे भोक,प्यास र थकानले ज्यान फलत्त गलेको थियो । हामी सबैजना भएर नास्ता खान बस्यौं । हिजै राति आन्टीले परौठा, आलुको अचार,चट्नी र सलाद तयार गर्नुभएको रहेछ । सारै स्वादिलो खानाले मनमा शक्तिको अमृत संचार गरिरहेको थियो । आन्टी ठुस्स हुँदा त यति मिठो खाना बनाउनुहुन्छ भने खुसीले फुरुक्क हुँदा त उहाँको हातबाट कस्तो ब्यन्जन बन्छ मलार्इ मात्र थाह छ । हामीले गनेर लगेका परौंठा उषाहरुसँग बाँडेर खाँदा कम परे । तर, बाँडीचुडी खानुको विकल्प थिएन, उनीहरुले ल्याएको आइसक्रिम, भूजा र सलाद हामीले पनि खायौं मिठै लागिरहेको थियो । पुन: पानीमा पौडिएर,चोबिएर र डुबेर रमाइलो गर्दागर्दै सात बजेको थियो। अब हामीलाइ घर फर्कनु थियो । भिजेर निथ्रुक्क भएका कपडाहरु सकेसम्म निचोरेर प्लास्टिकको प्याकमा राख्यौं । अब घरजाने बेला भैसकेको थियो । हामी गाडीतिर प्रस्थान गर्यौं । उषाहरु भने आफ्नै गाडीबाट घर जान हामीलार्इ ‘बाइइइ’ भनेर बिदा भए ।

रिटन हुँदा लीलीले गाडी चलाइन् । अंकलले नै गाडी हाँक्नुभयो । आन्टी र अंकलको ठासठुस पनि कम भइसकेको थियो भने उहाँहरुको अहम ब्राइटनकै चिसो पानीमा बिलय भएको थियो । आन्टी ड्राइभरसँगैको सिटमा बस्नुभयो । हामी पछि भयौं । म लीली र बाबु । बाबु बीचमा बस्न मानेन विन्डोसिटमा बस्ने उस्को ढिपीले लीली र मलार्इसँगै बस्न परेको थियो । अंकल आन्टी आफ्नै रमाइलोमा मस्त ।

‘दाइ उषा कस्तो लागि नि?’, मोबाइलमा ट्वीरटर ट्रेन्ड हेरिरहेको मलार्इ लीलीको यो कोइसनले झसंग बनायो । ‘राम्री छे,’ मैले छोटो उत्तर दिएँ । उ अझ खुसी हुँदै सोधी, ‘साच्ची दाइ ? मन पर्यो?’ म अझै अचम्मित हुँदै उसको कुरामा पुन: सहि नै थापें । मलार्इ लीलीले किन आज यति धेरै कुरा गरिरहेकी छ उषाको बारेमा भन्ने लागिरहेको थियो ।
लीलीको अनावश्यक चासोलार्इ अनादार गर्न मन लागेन् । फेरि म पनि त एक केटा न थिएँ ।

‘उषाको घर कहाँ होर ?,’ मैले थोरै कौतूहलताबीच उसलार्इ सोधे । मेरो अभिरुचीको डिग्री बिस्तारै बढ्दै गएको देखेर होला उ अझै फ्रुकेर बताउने पक्षमा थिइ । ‘हन्स्लो वेस्ट हो दाइ,’ मेरो प्रश्नको अभिप्राय: उसको नेपाल घर जान्नु थियो । तर सजिलैसँग ‘हन्स्लो वेस्ट’ भनेर अनुत्तरित नै बनाइदिइ । ‘नेपाल नि?’ म क्लिएर हुन खोजे । उसले ‘दाङ घोराही’ भनेर मेरो कुतुहलता दूर गरी । सोचें सबै नेपाली म जस्तै एउटा सानो घरलार्इ नै संसार सोचेर कहाँ बस्छन र ? उषा पनि लन्डन-नेपाल घर भएकी धनी केटी थिइँ ।

बाटोमा लीलीले उसकाबारे बताइरही । उ र उषा बेस्टफ्रेन्ड भएको नि करिब एक दशक भैसकेको रहेछ । मित्रताको आयु दुर्इ चारदिन भन्दा बढी नहुने दिनहरुमा उनीहरुको घनिष्ठताले मनमा एक प्रकार खुसी छायो । लीलीसँग दश दश वर्ष साथी बन्न सक्ने मान्छे पक्कै मनकी खराब छैन भन्ने अड्कल काँटे । लीली मान्छे चिन्नुमा अन्तरयामी नै थिइँ । उसैले पोहोर दाइको बिहे रिकीसँग गर्नबाट जोगाएकी थिइँ । पछि थाह भयो रिकी दुर्ब्यसनको सिकार बनिसकेकी रहिछ । अनि रिहाब लिंदै पनि तर कत्ति पनि इम्प्रुभ नभएको ।

उषाको परिवार शिक्षित र समृद्द रहेछ । बुवा आइटी इन्जिनियर अनि आमा सिनीयर नर्स । सन् १९९९ मा स्टुडेन्ट भिषामा युके आएका उनीहरु पछि यहिं सेटल भएर बसेका रहेछन् । केहि समयपछि उषा,उसकी बहिनी र भाइ पनि आएका । अहिले सबै यहिंको पीआर लिएर बसेका रहेछन् । लीलीले संक्षेपमा सबै कुरा बेलिविस्तार लगाइदिइ । भन्दै गइँ दाइ,केटी डिसेन्ट र अनुशासित छ, बेलायतमा यत्रो समय बसे पनि उसको नेपालीपन अझै राम्रो छ । परम्परा,संस्कार र नेपालीपनको पवित्र त्रिवेणी उसको ब्यवहारमा भएको कुरा सुनाइरही । ‘दाइ फेरि,तपाई यहिँ बस्न पनि त मिल्छ क्यारे । यदि बिहे भयो भने,’ लिलीले त्यहाँसम्म सोचेकी । जहाँसम्म मैले कल्पना गरेको थिएन तर उसको सुझाव नराम्रो लागेन । उमेर पुगेको,स्वास्थ्य र विवाहको योग्य म भैसकेको थिएँ । यसअघि कुरा नचलेको पनि हैन यहाँ सेटल हुन् मिल्ने केटीसँग विहेका प्रस्तावहरु,आयरल्याण्डदेखि वेल्ससम्म, लरवीक्सदेखि लन्डनसम्म मैले धेरै केटीहरु हेरेको थिए । कतिपय ठाउँमा मैले नमान्ने कतिपय ठाउँमा केटीले नमान्ने । यस्तै-यस्तै असमान्जस्यको बीचबाट मेरो ब्याचलर लाइफ गुज्रिरहेको थियो । मलार्इ थाह थियो लीलीले जस्तो मलार्इ केटी छान्दिन सक्ने हैसियत सायदै कसैमा थियो होला । एरेन्ज म्यारिजको संवेदनशील पाटोमा लीली कोसेढुंगा साबित भैरहेकी थिइँ ।

हामी घर आइपुग्दा करिब नौ बजेको थियो । म अंकलको घर नपसी सिधै रुमतिर लागें । थकान,भोक र जिज्ञाशाले मन पाकिरहेको थियो । यो बेचैनीलार्इ शान्त गर्न रुमको एकान्तपन नै चाहिन्थ्यो मलार्इ । कपडा चेन्ज गरें अनि अग्लो सिरानी बनाएर लामो सास फेर्दै पल्टिरहें ।


२०१५ सेप्टेम्बर

मेरो भिसा रिफ्यूज गरेको थियो होम अफिसले । अपिल राइट पनि थिएन । ओभरस्टे जस्तै थियो मेरो स्टाटस । अंकलहरु म यहिं नै सेटल होस भन्ने चाहिरहनु भएको थियो । नेपालबाट बुवा आमाले दिने कडा प्रेसरको उत्तरदायित्व पनि थियो उहाँहरुसँग । तर, आजको कुरा उहाँहरुबाट योजनाबद्द हैन कि कागतालीले जुरेको थियो । भिसा रिफ्यूज भएपछि नेपाल जान्छु जान्छु भन्दै जान सकिरहेको थिइन । लन्डनमै बस्ने रुमानी सपनाहरुको दास भैरहेको थिए म पनि ।
बेडमा उत्तानो पर्दै जिन्दगीमा पहिलो पटक देखेकी उषाका बारे सोच्न लागें । बिछ्ट्टै राम्री थिइन । एभरेज नै थिइ लुक्समा, होची थिइँ, अनुहारमा भर्खर पिम्पल आएर निको भएका काला दागहरु अझै थिए । ब्वाइज कट कपाल काटेकी, मोटी-मोटी अनि चंचल, स्विमिंग कस्टुम बेगर उसले रिप्ड जिन्स लगाएकी थिइँ । तर, फिटिंग थिइनँ ।
पौडी र पानी छ्यापाछ्याप गर्दा बिस्तारै जीउ दुख्न लागिरहेको थियो । कोल्टे फेरे । चार्जमा जोडिएको मोबाइललार्इ च्याप्प समाते अनि बुढी औलाले होम बटन सेन्टरमा पुग्ने गरि थिचे ! फिंगर प्रिन्ट सेक्युरिटी भएको मोबाइल खुलेन । स्वीच अफ भएको मोबाइललार्इ पासवर्ड नै हालेर खोल्नुपर्ने हुञ्छ खुल्यो । मोबाइल खुल्नासाथ सिधै एप्लिकेसनमा फेसबुक खोले ।
अनि माथिल्लो सर्च बारमा गएर फटाफट टाइप हाने ‘उषा घिमिरे ‘ । अंग्रेजीमा सर्च गर्दा मैले कहिँ भेटिन उसलार्इ । पुन: नेपालीमा नाम टाइप गरेर सर्च गर्न थाले । थुप्रै नाउहरु सर्च रिजल्टमा देखा परे, यत्तिकैमा ‘प्रे फर नेपाल’ प्रोफाइल पिक्चर भएको अनि आँधी भत्केको धरहराको भग्नावशेषलार्इ कभर फोटो बनाएको एक एकाउन्ट फेला पारे । जसमा लीली म्युचल फ्रेन्ड थिइँ ! झट्ट सोचें,,प्रोफाइल पूरै प्राइभेट सेक्युरिटीले भरिएको रहेछ क्यार,आफ्नो फोटो प्रोफाइल पिक्चर नराखेर,टाइट प्राइभेसी मेन्टेन गर्ने थुप्रै नेपाली केटी देखेको छु । आज उषाको प्रोफाइल अप्रेशन गर्ने इच्छा खेर जाने भयो भनेर थोरै खिन्न भएँ ।
मेरो सोचाइ गलत सावित भइसकेको थियो । जब मैले उसको कभर फोटोलार्इ क्लीक र स्लाइड गरेर हेर्न थालें,उसका थुप्रै फोटाहरु पब्लिक थिए । साउथ ह्याम्पटन युनीभर्सिटीबाट ब्याचलर डिग्री गरेकी रहिछ । ग्राज्युएसनका उसका अनेक फोटाहरु थिएँ । परिवारसँगका अनि बुवाआमासँगका पनि । मलार्इ फेसबुक प्रोफाइल प्राइभेट राख्नेभन्दा पब्लिक राख्ने मान्छे मन पर्छ । पब्लिक राख्नेहरु सामाजिक जीवनका कुनै पाटाहरु पनि लुकाउन नपर्नेजस्ता लाग्छन । थाह छैन कति सहि कति गलत छु ।

उषाका दुर्इ सय तेत्तीस वटा पब्लिक फोटालार्इ सूक्ष्म रुपमा नियालेर हेरे । पाउट बनाएर खिचेका उसका सेल्फीहरु रोमान्टिक आर्टिस्टले कोरेका आकर्षक आकृतिजस्ता थिएँ । स्न्याप च्याटबाट बनाएको डगी फेससहितका फोटाहरुले उसको प्रोफाइलमा अनौठो रंग भरेको थियो भने इमा वाट्सन आउटलुकमा सजिएकी उ सुन्दर थिइँ । हेर्दाहेर्दै रंगीचंगी फूलबारीमा रमाउने एक स्वतन्त्र पुतलीजस्तै लागि । यस्तो लागिरहेको थियो दिउँसो बीचमा भन्दा उसँगका अनेक सम्बन्धहरुको कल्पनाले म अहिले बढि रोमान्चित भइरहेको थिएँ । दिउँसोसम्म सुषुप्त रहेको उप्रतिको मोह विस्तारै यसरी माथितिर उक्लिरहेको थियो मानौ मष्तिस्कमा रसायनहरुको एकाएक उथलपुथल भएको छ ।

बेडमै कोल्टे परिरहेको म लामो हाइ काँडे । गर्मी कम हुँदै थियो । हाफ पाइन्टसँग आफ्नै बेडमा अलपत्र थिएँ । नाङ्गो घुँडानिर उडुसले चिसिक्क गरेर टोक्यो ।
लीलीको बयान र फेसबुकको चीरफारबाट मलार्इ उसँग मित्रताको नाता बढाउन मन लाग्यो । लामो सास काढे । उसको प्रोफाइलमा ‘एड रिक्वेस्ट’ बटन दबाइदिएँ ।

५ मिनेट भयो । मेरो रिक्वेस्ट असेप्ट भएको कुनै नोटिफिकेसन देखा परेन । प्रायस: म रिक्वेस्ट सेन्ड गरेको ४०/४५ मिनेटमा क्यान्सिल गरिदिन्छु यदि एसेप्ट नभए । करिब आठ मिनेटपछि नोटिफिकेसनको ठाँउमा रातो अंक देखापर्यो नम्बर एक बनेर । सोचेंअनुसार नै उषाको फ्रेन्ड रिक्वेस्ट एसेप्ट भएको रहेछ । अब उषा र म फेसबुकमा फ्रेन्ड भएका थियौ ।
‘नमस्ते,सन्चै हुनुहुन्छ?’ उषालेनै फेसबुकमा पहिला म्यासेज गरेकी थिइ । पहिलो म्यासेज त्यो पनि केटीको तर्फबाट आउँदा मन फुरुङ्ग भयो । रिप्लाइ दिएँ । सन्चो बिसन्चो । यताउती सेयर गर्यौ । २०/२५ मिनेटसम्मको कुराकानीले मनमा रमाइलो अनुभूति दियो ।

अब एवम रितले हाम्रो कुराकानी नियमित जस्तै हुन थालेको थियो। कहिले उसले म्यासेज पठाँउथी त कहिले मैले । हामी फोन नम्बर साटासाट र ह्वाट्स एप/भाइबरमा पनि साथी भइसकेका थियौं । फोनमा पनि कुरा हुन्थ्यो । उसको आवाज मधुर थियो । सुनु-सुनु लागिरहने । खासै फोन गर्न नरुचाउने मेरो स्वभाव उसँग कुरा गर्न थालेपछि फेरियो । हामी लीलीका बारे कुरा गर्थ्यौं । मेरो भिसा स्टाटसको बारेमा मैले सबै उसलार्इ भन्थें । हामी रुममा उडुस लाग्नेदेखि लिएर ४ चोटि अलार्म बजेपछि मात्र उठ्ने बानीसम्मको गफ गर्थ्यौं । एकदिन उसले मलार्इ अल्छि पनि भनेकी थिइँ । मैले त्यसदिन झन आफ्नोपन महसुस गरेको थिएँ । लगातार च्याटमा रमाउँदा आनन्द हुन्थ्यो । उ पनि खुलेर बोल्थी । आफ्नोबारे,घर परिवारका बारे सबै सबै…। दाङ घर भएनि एकपल्ट मात्र गएकी रे उ, काठमाडौमैं हुर्के बढेकी रैछ । लेट नाइट च्याट गर्दागर्दै कुनै बेला विहानको तीन चार पनि बज्थ्यो । गुडनाइट भन्थें मैले । उ ‘हे मिस्टर गुड मर्निङ भन’ भनेर बिदा हुन्थी । अनि ‘लब यु’को इमोजी सेन्ड गरेर जान्थी ।
मैले फेसटाइमबाट उसको रुम पहिलो पटक हेरेको थिएँ । दराजमा कपडाहरु मिलाएर राखेकी, सानो र्याकमा केहि नेपाली र इंग्लिश किताबहरु थिए । किताब पनि पढ्छ्यौ भनेर ब्यंग्गबाण हानेको थिए कुनैदिन । उसले ‘पढ्छु नि’ भन्ने सोझो एन्सर दिएकी थिइँ । डबल साइज बेडमा पिंक बेड सिट हालेको उसको रुम असाध्यै सुग्घर थियो । मैले एक दिन लेटनाइट च्याट हुँदा त्यति ठूलो डबल बेडमा एक्लै सुत्दा बेडमेटको अभाव गर्दिनौ भनेको थिएँ । प्रत्युत्तरमा उ मुस्काएकी मात्र थिइँ । फेसटाइममा कुरा हुँदा उसले एकदिन भेट्ने प्रस्ताव राखी ।
१७ अगस्ट मेरो कामको रोटामा बिदा थियो । त्यसैदिन उसलार्इ भेट्न सक्छु भनेको थिएँ । उसले नै भेन्यू चुज गरेकी थिइँ । बोन्ड स्ट्रिटको ‘प्रिट अ म्यांगर’ । उ त्यतै काम गर्ने भएकोले पनि होला उ सायद त्यो ठाउँदेखि परिचित थिइँ । यता मलार्इ भने गाह्रो भइरहेको थियो । पहिलो चोटि कोहि अपरिचित केटिलार्इ एक्लै भेट्दै थिएँ । थोरै नर्भस त धेरै एक्साइटेड । मनमा अनेक कुरा खेलिरहे,कसरी कुरा गर्ने?के कुरा गर्ने? हाम्रो सम्बन्धलार्इ के भनेर डिफाइन गर्ने आदि आदि । गुगलमा सर्च गरेँ, ‘हाउ टु इम्प्रेस अ गर्ल एट फस्ट मिटिङ? ‘ भनेर । तर, गुगलले मिटिङको ठाउँमा डेटिङ धेरै देखायो सबै मिलाएर बुझें । १५ गते मेरो इभिनिङ सिफ्ट थियो काममा । ६ बजे पुग्नुपर्ने त्यसैले दिनभर खाली हुन्थें । विहान आर्लमको घन्टी नबज्दै उठें । सायद त्यसरी म जिन्दगीमा पहिलो पटक उठ्दै थिएँ । हल्का भिटाविक्सलार्इ मनतातो दूधमा मिसाएर ब्रेकफास्ट गरे । अनि लागे वेस्टफिल्ड सपिङ सेन्टर स्ट्राटफोर्ड तिर । मलार्इ सपिङ गर्न त्यति आउँदैन । लीलीलार्इसँगै लैजान्छु भन्ने सोचें । फेरि उषाले र मैले यो भेट उसलाइ थाह नदिर्इ जुराएकोले पोल खुल्ला कि भन्ने डर लाग्यो ।

जाराबाट एउटा अठ्ठाइस पाउन्डको फिटिङ जिन्स, रिभर आइल्यान्डमा पसेर सेलमा लागेको एउटा पोलो टिसर्ट र जुत्ता किने । अनि अरबियन पर्फयुम सपमा पसेर एउटा पर्फयुम । मेरो डेबिट कार्डको कूल बजेटलार्इ हल्लाउने गरी एक सय नब्बे पाउन्डको सपिङ गरेँ । मिनेट, घन्टा र दिनपछि त्यो दिन आइपुग्यो ।

 

१७ अगस्ट

एकाबिहानै घामको झुल्कोले निधारमा तातो चुम्बन गरेपछि बिस्ताराबाट उठें । छिटोछिटो नुहाँए, सेभ गरेँ,ब्लेड पुरानो रहेछ,अलि अलि दरफर्रायो । चिया नास्ता गरें । एक घन्टा जति एबिउड साथीलार्इ भेट्न जानु थियो,भेट्न गएँ । उसले धेरै कर गरेपछि उतै खाना खाएर घरतर्फ लागें । उषाले २ बजेको टाइम भनेककी थिइँ । यतिन्जेल साढे बाह्र भइसकेको थियो । छिटो छिटो अस्ति किनेको टिसर्ट, जिन्स र जुत्ता लगाएँ । आफ्टर सेभ सिद्दिएको रहेछ । मुख फुस्रो हुन्छ कि भनेर नजानिदो बडी लोसन मुखमा दले । नौ नम्बरे जुत्ताले सजिलैसँग खुट्टाको स्वागत गरे । झसँग सम्झे लन्डनाँ केटीले सानो जुत्ता लगाउने केटालार्इ बढी रुचाउँछन भन्ने । तर म निर्बिकल्प थिएँ ।
नर्थ ग्रीनवीचबाट बोन्ड स्ट्रिट करिब पच्चिस मिनेटमा पुगिन्छ । तर म दस मिनेट बढी राखेर स्टेशनमा पुगेको थिएँ । स्टेशनमा त टाइममै पुगें । तर, मलार्इ उसले दिएको लोकेशनमा पुग्दा पाँच मिनेट लेट भैसकेको थियो । दुर्इ ओटा कफी र दुर्इ वटा बगेट अर्डर गरेर बसिसकेकी रहेछ उ । ‘ढिला मान्छे,’ उसले मलार्इ कम्पलेन गरी । आज मलार्इ अल्छि नभनेर ढिला भनेकी थिइ । ‘आइ एम सरी,’ भनिदिए । ‘भो पर्दैन फर्मल बन्न,’ उसले सजिलो बनाइदिइ ।

च्याटमा कुरा गर्नु र भेटेर कुरा गर्नुमा हुने कठिनाइको म पहिलो पटक भुक्तभोगी बन्दै थिए । उषाको सेन्स अफ ह्युमरले कुरा गर्न भने सजिलो बनाइरहेको थियो । कुरैकुरामा उसले ५९ वर्षकी आफ्नी हजुरआमा बिरामी भएको कुरा बताइ । मैले ‘उन्साठी वर्ष भनेर?’ अचम्म मानिदिएको थिए . उसले आत्मविश्वासका साथ ‘हो’ भनेर मलाई जितेकी थिइ . पछि थाहा भयो उसकी हजुरआमा ‘उनानब्बे’ सालकी हुँनुहुँदो रहेछ । उसले ‘एटटी नाइन’ क्या भनेर आफ्नो बचाऊ गरेकी थिइँ । करिब तीन घन्टाको मीठो बसाइँपछि हामी बोन्ड स्ट्रिट,अक्सफोर्ड सर्कस हुँदै मार्बलआर्चसम्म पुग्यौं । उसले सेल्फफ्रिजमा पसेर सामान हेरी । तर, केहि पनि किनिन । पछि नेक्स्टबाट एउटा जिन्स किनी । घुमघामसँगै गोधुलीको धमिलो किरण बोन्डस्ट्रिटका अग्ला बिल्डिङको कुनामा लुकामारी गर्दै थिए । हामी छुट्टिने बेला भएको थियो । मैले उसलार्इ एक्टन टाउनसम्म छोड्न गएँ ! अर्को ट्रेन आउन्जेल दुवैजना ओर्लियौं । पिकाडेली लाइन आयो, उ चढ्न लागि । मेरो हात उसले टाइट समाएकी थिइँ छुट्टिने बेलामा ।

त्यसपछि हाम्रो भेट नियमितजस्तै हुन लाग्यो । म मेरो बिदाको दिन साथीभाइसँग कम र उसँग बढी समय बिताउन थालिरहेको थिएँ । यो कुरा साथीहरुले नि नोट गरिरहेका रहेछन् । हामी कहिले मुभी हेर्न त कहिले बलिङ खेल्न जान्थ्यौं । कैयौं पटक उ लीलीकोमा आउने बहानाले मसँग भेट्न आँउथी । हामीलार्इ वुलवीच आर्सनल पछाडिको थेम्सको किनारामा बसेर गफ गर्न औधी मन पर्थ्यो । थेम्सलाइ साक्षी राख्दै मैले उसँग धेरै अन्तरंग पल साटेको छु ।
उसको ओकेजनल्ली ड्रिंग्स गर्ने बानी मेरो संगतले अल्लि बढेको थियो । हामी कहिले उलवीच नजिकको ग्रेट ह्यारी पबमा त कहिले ओटुको नान्डोजमा बियरसँगै रमाउँथ्यौ । उसको ‘लिभ इन द मोमेन्ट’ भन्ने आदर्शले मलार्इ एकदम प्रभावित गरेको थियो । म पनि जिन्दगी खुलेर जिउन कन्जुस्याँइ गर्ने खालको मान्छे थिइन । एक किसिमले हाम्रो केमेस्ट्री खुब जम्थ्यो । एकदिन उलवीचमा नशाले मात्तिएर उसले चौरमा बसेका पन्जाबीलार्इ ‘पाजी पाजी’ भन्दै जिस्काएकी थिइ । मैले ‘सट अप’ भन्दै अंग्रेजीमा सम्झाएको थिएँ । उ दुगुरेर मलार्इ खुब दुःख दिएकी थिइँ त्यसदिन ।

उषा र मबीच थुप्रै अन्तर थिए । उ धनी थिइँ, म थिइन । उ सहरकी थिइँ, म गाँउको । उ रातो पासपोर्टवाली, म नेपाली पासपोर्टधारी । उ डल्ली थिइ त म थिइन । तर पनि हाम्रो एकताको दिवार त्यति निम्छरो थिएन । उसका निश्चल र आधुनिक भावनासँग मेरो विचार मिल्थ्यो । हामी वैचारिक दृष्टिकोण र भावनात्मक सुमधुरतादेखि लिएर म्याकडोनाल्डको चिसो फेन्टासम्म एउटै स्ट्रले पिएर रसपान गरिरहेका हुन्थ्यौँ । आमाले सानोमा भनेझैं नत कहिल्यै उसको जूठो खाँदा मुखमा खटिरा आए नत फरक-फरक विचारलार्इ एक गर्न नै गाह्रो भयो । उमेरमा मभन्दा कान्छी भएपनि उसको कुरा, विचार र सोच कैयन गुना जेठा थिए । मेरा कैयन जीवनका कठिन सिद्दान्तलार्इ उसले सजिलै चेन्ज गर्दिएर सजिलो बनाइदिन्थी । उसका अगाडि पर्दा म मेरो भिसाको समस्या, कामको कठिनाइ, क्रेडिट कार्डको बिल र डाइरेक्ट डेबिटका लामा-लामा स्टेटमेन्टहरु सजिलै भूलिदिन्थेँ । उसले मलार्इ यो मानेमा नवजीवन दिएकी थिइ । हरेकदिनलार्इ नयाँपनको आभाष दिलाएर पूरै दिन घमाइलो र उर्जाशील बनाइदिनु उसको आधारधूत विशेषता थियो । म पूर्णत: उसको प्रेममा लीन भैसकेको थिएँ ।
यहीबीच अंकलहरु साथीको छोराको बिहेको लागि दुर्इ दिनलार्इ स्कटल्यान्ड जानु हुने भयो । यो बीचमा लीलीले र मैले उषालार्इ नि बोलाएर सानो गेट टुगेदर गर्ने प्लान बनायौं । उसले सहर्ष स्वीकारी । मैले पनि साथीसित काममा सिफ्ट साटेर छुट्टी मिलाए । दुर्इ दिनको लागि । हाम्रो प्लान अनुरुप म:म बनाउने, चिकन विंग्स र आलुको अचार अनि ड्रिंग्स थियो । मःम र चिकन विंग्स बनाउन म सिपालु थिएँ । आलुको अचार लीली र उषाले बनाइहाल्थे अनि ड्रिंग्सको लागि नजिकैको सेन्सवरी सुपरमार्केट छँदै थियो ।

साँझ लन्डन ब्रिजबाट साढे ६ बजेको साउथ स्ट्रन ट्रेन समातेर उ चार्लटन ओर्ली । उसलार्इ लिन ममात्र गए स्टेशनसम्म । ट्रेनबाट झरेर बाहिर निस्कि जहाँ म वेट गरिरहेको थिएँ । त्यसदिन उ असाध्यै राम्री देखिएकी थिइँ । जोन लुइसबाट किनेको पहेंलो रंगको प्रोम ड्रेसमा सजिएकी, कुममा टेड बेकरको सानो झोला बोकेकी । देब्रे हातमा मार्क एन्ड स्पेन्सरको सपिङ ब्याग भिरेकी । उत्पातै राम्री । सोचे केही किनेर ल्याएकी होली । मसँग हिड्दा प्राय: मेरो दाहिने पाखुरा समातेर हिड्थी । त्यसदिन पनि निसंकोच मेरो हात समाएर हिंडी । मैले उसको हातको झोला बोकिदिएँ । यसरी हिंड्दा उ मेरो कुमभन्दा पनि तल आँउथी । उ धेरै होंची देखिन्थी । यहि भएर नि मैले उसलार्इ डल्ली भनेर जिस्काइरहन्थें । उ रिसाउँथी, उ रिसाउँदा झन राम्री लाग्थी मलार्इ ।

हात समाएरै माथितिर उक्लँदा बस स्टपमा कान्ति भाउजू बस कुर्दै हुनुहुँदो रहेछ लुइशाम जान । उहाँलार्इ देखेर उसले झट्ट हात हटाएकी थिइँ ।
घर आइपुग्दा लीलीले तातो चिया बनाएर राखेकी रहिछ । हामीले चिया पिउँदैं कार्यक्रमको तयारी गर्न थाल्यौं । मैले एक्लै मःम बनाउन थालें । उनीहरु आलुको अचारतिर लागे । मैले छिटो-छिटो मःम बनाएको देख्दा उनीहरु दंग परे । यत्तिकैमा लीलीले ब्यग्वाण हानी उषालार्इ, ‘दाइले भाउजूलार्इ मःम बेचेरै नै पाल्न सक्नुहुन्छ ।’ यो सुन्दा उषाको प्रतिक्रिया जान्न मेरा इन्द्रिय ब्यग्र थिए । जवाफमा उषा मुसुक्क हाँसेर त्यो सुमधुर पलमा अझ रंग भरी । मःम बनाउँदै खान थाल्यौं । चिकन विग्स पनि तयार भैरहेका थिए । आलुको अचार भने झान्न मात्र बाँकी थियो । हामीले किनेर ल्याएका ड्रिग्स निकाल्यौं । मेरो लागि वाइन ल्याएको थिएँ । मलाइ वाइन भए पुग्थ्यो, ब्रान्डको वास्ता हुँदैन्थ्यो । लीली पनि आफ्नो फेभराइट वाइन नै ल्याएकी थिइ । उषा भने उसैले आफ्ना लागि ‘मालिबु ह्वाइट रम’ ल्याएकी रहिछ ।

सबै कुरा तयार भइसकेको थियो । हामी ग्लासमा मदिरा चियर्स गर्न लाग्यौं । मलार्इ लागिरहेको थियो जिन्दगीले यस्तै सुखद् पहेलीहरु सबैको जीवनमा ल्याइदियोस । सबैले यस्तै सुखद् साँझहरुको भरपूर आनन्द अनुभूत गर्न सकुन । मदिराको पहिलो लट सकिएको थियो । लीलीलार्इ दालमोठ खान मन लागेछ माथि गएर पुरानो दालमोठ ल्याएर आइ । मदिराको रसपानसँग चिकन विग्सको मीठो मिलन कहिल्यै नमोटिने क्षण जस्तै थियो । हामी मीठा मीठा गफ र संगीतको कर्णप्रिय स्वरसँग लठ्ठिदैं झुम्मिरहेका थियौं ।
रातिको करिब साढे एक बजे माथि ठूलो आवाजमा ढोका बजेको आवाज आयो । हामी तीनैजना सतर्क भयौ । डरायौ । मलार्इ थाह थियो चोरहरुको पनि बिगबिगी छ भन्ने कुरा । कतै चोरले त हैन? दुवै केटी धेरै डराइरहेका थिए । उनीहरुको सामु म डराउनु ठिक लागेन । फेरि म पनि डराए उनीहरुको मनोबल कमजोर हुन सक्थ्यो । यसैले हिम्मत जुटाएर बोलेँ, ‘डन्ट वरी,आइ विल गो अप्स्टेयर्स ।’ तर, भित्र भित्र डर लागिरहेको थियो । तैपनि केटीहरुको सामु कमोर बन्नु थिएन । माथि उक्ले । माथी जाँदा सानो भाइले सुसु गर्न जाँदा बाथरुमको ढोका बन्द गर्न भूलेर हावाले हल्लाएको रहेछ । हामी सबै हाँस्यौ ।

खाना, मःम र मदिरा टन्न भइरहेको थियो । घडि हेर्यौ मध्यरातको साढे दुर्इ भइसकेको रहेछ ।

लीलीले मलार्इ र उषालाई एउटै रुममा ब्यवस्था गरिदिएकी थिइँ सुत्नलार्इ । खुट्टा धोएर हामीहरु आ-आफ्नो सयनकक्षतिर लाग्यौ । सुग्घर र सफा डबल बेडमा म गम्लङग ढलें । मानौ मलार्इ निद्रा देवीको काखमा लुटुपुटिन अबेर भैसकेको छ । उषाले ‘हे मिस्टर एक्लै सुतिदिने?’ भनेपछि पो झसंग याद आयो । आज त्यो रुममा उसको पनि त अधिकार छ । उ आफ्ना कानका एअर रिंग्स र हातका हरिया चुरा खोलेर सुरक्षित ठाँउमा राख्दै थिइ । मेरो मुटुको ढुकढुकी बढ्न लागिरहेको थियो । मैले अरमानीको सेतो टिसर्ट लगाएको थिँए । हामी दुबै मदिराको नशामा अर्धचेत थियौं । रमाइलो लागिरहेको थियो । यहि एउटा मदिरा थियो जो सुख दुःखमा आफ्नो बिरानो नभनी साथ दिन्छ । उषा आफ्नो नाइट ड्रेसमा रेडी भइसकेकि थिइँ । म भने सुत्नकै प्रबन्धसहित आज अंकलको मा गएको थिइन । मेरो अरमानीको टिसर्टको कलरमा च्याप्प समातेर उषाले मलार्इ आफूतिर तानी । बयासी किलोको मेरो बलियो शरीर उषाका सुकोमल हातको सजिलै शिकार भयो । अब उसको र मेरो शरीरको दुरी दुर्इ सेन्टिमिटर पनि थिएन । हामी दुर्इका ढुकढुकीले कन्चनजंगा आरोहण गरिसकेका थिए ।
उषा अल्ली बढी मात्तिएकी थिइँ । म पनि कम थिइन । दुवैका ढुकढुकीको स्वर मुखबाट श्वास बनेर निस्किरहेको थियो । त्यो अन्तरंग क्षणमा उषा झन राम्री देखिएकी थिइ । बच्चामा हेपाटाइटिस ‘बी’को सुर्इ लगाएको उसको दाहिने पाखुरामा मेरा चाहनाका दाँत गडे । उ अइया~~- को भावमा चिच्चाइ । मधुरो स्वर बनाउँदै भनी, ‘फ्रस्टेड म्यान’ । मैले जवाफमा उसका साना सुन्दर कान टोक्दैं भने, ‘डल्ली ।” उसको घुँडानिरको बिच्छीको ट्याटु मैले पहिलो चोटि देखे । यसमा उ अझ सेक्सी लागिरहेकी थिइ ।
मदहोसीको चरम पलमा उसले आफ्नो मनको भाव पोख्दै भनी, ‘सुन्नु न म कन्सिभ नै गर्न सक्दिन जस्तो लाग्छ ।’ यो रमाइलो मूडलाइ बिगार्न म दिने पक्षमा थिइन । त्यसैले छोटकरीमा हाम्रो गाँउकी डल्ली भाउजूले ३ वटा स्वस्थ बच्चा पाएको लघुकथा सुनाइदिए । उ फिस्स हाँसी । यसप्रकार उसलार्इ मैले डल्ली हुनुको हिनताबोधबाट नि मुक्त गरिदिएको थिएँ ।

यसरी हाम्रो रात गुज्रयो । हामी पहिलोपटक फिजिकल रूपमा एक भएका थियौँ । वा भनौं जीवनभर नबिर्सने एउटा स्वर्णीम आनन्दबोध गरेका थियौँ । अर्को दिन अलि ढिला उठ्यौँ । मलार्इ पहिले निद्राले छोड्यो । उठें । मुखधोइवरी चिया नास्ता तयार पारेर लीली र उषालाइ उठाएँ ।

हिजो रातिको प्रेमको निशानी उसको पाखुरामा गाढा नै परेछ वा भनौँ मेरो फ्रस्टेशन धेरै ने उत्रेको रहेछ । उषाले पाखुराको निशानी ढाक्नको लागि लीलीको पातलो समर ज्याकेट मागेकी थिइँ । जाडो भएको बाहना पारेर ।
म उसलार्इ छाड्न ग्रीन पार्क स्टेशन सम्म पुगे । छुट्टिने बेलामा उसले मेरो ओनियन भाजी फुराउँदा तेलले डढेको हातमा दह्रैसँग टोकिदिइ । मानौं उसले हिजोको बदला लिइरहेकी छ । उसलार्इ बाइ गरेर म फर्के ।
म यसैगरी उसको भावनाको सामीप्यतामा नजिक भैसकेको थिएँ ।
यता भने मेरो आर्थिक अवस्था रुग्ण बनिरहेको थियो । कम आवरको सिफ्टले आम्दानी घटेको थियो भने अलिअलि हुने इन्कम सबै डाइरेक्ट डेबिटमा सकिन्थ्यो । घर नफर्केको आठ वर्ष भइसकेको थियो । घरको न्यास्रोले मनमा बज्र फुटाँउथ्यो । बिरामी बुवा र बुढीआमाको सम्झनाले म एकान्तमा खुब रुन्थें । उहाँहरुले किन आउदैनौँ घर बाबु? भनेर गर्ने सामान्य प्रश्नको जवाफ मसँग थिएन । तर यो सबै कुराको समाधान उषा नै थिइ । म पनि प्रेमको रस्वादन गर्दै मात्र हिंड्ने अल्लारे केटो थिइन । उमेर र अवस्थाले परिपक्क भैसकेको नौजवान थिए ।

अंकलहरु फर्केपछि उषाको फ्याम्लीसँग विहेको आधिकारिक प्रस्ताव राख्ने अनुरोध गरेँ । अंकलले आफूसँगै आफ्नो साथी गोबिन्दलार्इ नि सँगै लैजाने कुरा गर्नुभयो । उषाको ड्याडि र गोविन्द कोइराला सरबीच हिमचिम रहेछ यो कुराको फाइदा यतिबेला हुने कुरामा म ढुक्क थिएँ । यहि महिनाको २७ गते उहाँहरु मेरो विहेको प्रस्ताव लिएर जानुभयो ।
‘मलाइ सोच्न दिनुस कृष्णजी,’ उषाको ड्याडीको रेस्पोन्सको सार यहि रहेछ । यति धेरै बिषयगत एन्सर दिएर बुढाले के गर्न खोजेका हुन? म असमन्जसमा परेको थिएँ ।

हाम्रो सम्बन्धको नशामा म यति लठ्ठिसकेको थिएँ कि मेरा कैयन कुरा अनियमित भैरहेका थिए । कति नयाँ कुरा सुरु गरेको थिए । प्रेम र प्राप्तिको यो सुखद संयोगले मलार्इ एउटा नयाँ जीवन जीउन सिकाइरहेको थियो ।

तीन दिन भयो काममा सारै ब्यस्त भएकोले उसँग कुरा हुन पाएको थिएन । उसले पनि म्यासेज केहि गरेकी थिइन । आज ६ गते विहानै उषालार्इ फोन गर्न मन लाग्यो । त्यसै त्यसै लो फिलिङ महसुस भैरहेको थियो । फोन डायल गरे फोन स्वीच अफ भन्यो । कुनैबेला नेटवर्क प्रब्लमले पनि यसो हुन्थ्यो । फेरि रि-डायल गरें अहँ फोन लागेन । फेरि रि डायल गरे, लागेन । पटक पटक ट्राइ गरे । तर लाग्दै लागेन उसको फोन । कहिल्यै उसको फोन यसरी अफ हुँदैन्थ्यो । भाइबर, ह्वाट्स एप, इमो, स्काइप सबैमा ट्राइ गरें । अहँ कतैबाट सम्पर्क हुन सकेन । यो नर्मल स्थिति पक्कै थिएन । मनमा अनेक शंका उब्जिन लागे । लीलीलाइ कल गरें । उसको बारे सोध्न लीलीले दाइ अकस्मात नेपाल जानुभएको छरे सबैजना भनी । म छाँगाबाट खसेजस्तै भएँ । मेरो सुन्दर सपनाको महलमा आज एकाएक भयंकर चट्याङ बर्षेको थियो । सोचेँ उसले मलार्इ नेपाल जाँदा एककल फोन पनि गरिन ।

मन खिन्न भयो । सधैं उदाउने चहकिलो सूर्य पनि मलिन लाग्यो । थेम्सको संग्लो पानीलार्इ मैले कन्चन देख्न छोडिसकेको थिएँ । मन उदासीमा डुब्न लागिरहेको थियो ।
पाँचदिन पछि थाह भयो । उषाको बिहा भएछ । पूर्वयोजना अनुरुप नै उसको परिवार नेपाल गएर समस्त काम समापन भएको रैछ । लीलीलार्इ फोन गरेर भेट्न बोलाएँ । विचरा मेरी प्यारी शुभेच्छुक बहिनी बिहानै मेरो घरमा भेट्न आइ । उसले लामो सास फेरेर मलार्इ भनी, ‘आइ एम सरी दाइ ।’ यो भन्दाअघि उसलार्इ मैले यति धेरै मलिन कहिल्यै देखेको थिइन ।

म टुटिसकेको थिएँ । फेसबुक खोलेर उसलार्इ एकपल्ट हेर्न मन लाग्यो । मलाइ ब्लक गरिसकिछ । आफ्नो फेक एकाउन्ट खोलेर हेरेँ, पोखराको चार्टड एकाउन्टेन्ट अर्जुन रानाभाटसँग धूमधामसँग विहे गरिछ । उसको फेसबुक प्रोफाइको रिलेसनसीप स्टाटस ‘म्यारिड’ भनेर चेन्ज भैसकेको थियो ।(नेपाली पत्र बाट)