संशोधनपछि निर्वाचन मिति तोकिन्छ, सरकारले कसैलाई पेल्दैन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेपछि मात्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन् । उनले भने, ‘मैले प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिँदा गरेको प्रतिबद्धताअनुसार संविधानमा दोस्रो संशोधन हुन्छ । त्यसका लागि एक साताभित्र संशोधन प्रस्तावलाई संसद्मा टेबुल गर्नेछु ।’

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको बैठकले सत्तारूढ दल एक ठाउँमा बसेर संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले एक साताभित्र संशोधन प्रस्ताव संसद्मा टेबुल गर्ने सहमति भएको बताए । ‘संशोधन प्रस्ताव र तीन तहको निर्वाचन सँगसँगै अगाडि बढ्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सत्तारूढ र सरकारलाई समर्थन गर्ने दलहरू एक हुने निर्णय भएको छ’, उनले भने ।

सत्तारूढ दल प्रमुख विपक्षी एमालेसहितका दललाई पेलेर जान्छ भन्ने प्रश्नको जिज्ञासामा सल्लाहकार खनालले भने, ‘प्रधानमन्त्रीज्यूले सबै दलसँग सल्लाह र छलफल गर्नुहुनेछ । एमालेलाई पनि सहमतिमा ल्याउन प्रधानमन्त्री स्वयं लागिरहनुभएको छ । सरकारले कसैलाई पेल्दैन । संशोधनको पक्षमा आउने÷नआउने एमालेको पोजिसन हो ।’