लण्डन दुताबासमा राखियो प्रथम शहीद लखन थापा मगरको तस्वीर,को हुन् त उनि ?

लण्डन । लण्डनस्थित नेपाली दुताबासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर राखिएको छ ।थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर मंगलबार सो तस्वीर राखिएको हो ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र मगर संघ बेलायतका अध्यक्ष सीता पुनले संयुक्त रुपमा सो तस्वीर राखेका थिए।

दुताबासद्वारा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै राजदुत आचार्यले हरेक देशको आफ्नै इतिहास हुने भन्दै अधिनायकवादका विरुद्धमा लखन थापामगरले गरेको विद्रोह प्रेरणादायी भएको बताउनुभयो । लखन थापामगर लगायत शहीदहरुले देशका लागि दिएको योगदानको सो अवसरमा राजदुत आचार्यले स्मरण गर्नुभयो ।

दुताबासको रिसेप्सन हलमा राखिएको थापाको तस्वीरले उहाँको बारेमा जान्न बुझ्न चाहनेहरुलाई मौका दिने भन्दै आचार्यले दुताबासमा तस्वीर राख्न पाउँदा खुशी लागेको बताउनुभयो ।

नेपाल आदिवासी जनजाती महासंघ बेलायत (नेफिन यूके) का अध्यक्ष कर्मा पहाडी शेर्पाले लखन थापालाई प्रथम शहीद घोषणा गराउनका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै बेलायतस्थित नेपालीहरुको साझा घर नेपाली दुताबासमा उनको तस्वीर राख्न सन् २०१६ देखि नै पहल गर्दै आएको जानकारी दिनुभयो ।

नेपाली दुताबासले प्रथम शहीदको तस्वीर राखेर उदाहरणीय कार्य गरेको भन्दै उनले आगामी दिनमा शहीद दिवसमा अरु शहीदहरुसँगै लखन थापाको पनि नाम लिइने विश्वास व्यक्त गर्नुभयो ।
मगर संघ युकेका अध्यक्ष सीता पुनले दुताबासमा लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोध स्वीकार गरिदिनुभएकोमा दुताबास परिवारमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमको संचालन दुताबासका उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो भने तस्वीर राख्नुअघि लखन थापामगरको फोटोमा पुष्पगुच्छा तथा खादा अर्पण गरी मौनधारण गरिएको थियो ।

को हुन् प्रथम शहीद लखन थापा मगर ?

वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मिएका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर हो । उनले राणा शासन विरुद्ध जनविद्रोह सञ्चालनका क्रममा मनकामना देवीको पहिलो पूजारी सिद्ध लखन थापाको प्रसिद्धिलाई उपयोग गरी विद्रोहमा ठूलो जनसमर्थन जुटाउने रणनीतिका साथ ‘लखन’ भन्ने नाम ग्रहण गरेका थिए ।

वि.सं. १९११ मा नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा भर्ना भएका लखन थापा मगर ई.सं. १८५७ को भारतीय स्वन्त्रता संग्राम (सिपाही विद्रोह) दबाउन भारतको लखनउ पुगेका थिए (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८८) । त्यतिबेला जंगबहादुरको निर्णय बमोजिम भारतको सिपाही विद्रोह दवाउनलाई नेपालले सैन्य सहयोग गरेको थियो । उक्त सिपाही विद्रोह दबाउन नेपाली सेनाका २५ वटा पल्टन जंगबहादुरकै नेतृत्वमा भारत जाँदा लखन थापा पनि बाध्य भएर लखनउ गएका थिए ।

नेपाली सेनामा कार्यरत रहँदा उनी तत्कालीन युवराज त्रैलोक्य बिक्रम शाहका अंगरक्षक थिए (नेपालको सैनिक इतिहास, भाग २, वि.सं. २०६५, पृ. ३६४) । वि.सं. १९२५ मा नेपाली सेनाको कप्तान पदमा पुगेका लखन थापा मगरले वि.सं. १९२७ सालमा तीन महिनाको घरबिदा लेखाएर नेपाली सेनाको जागिर छाडे ।

सेनाको जागिर छाडेपछि उनले राणाशासन विरुद्ध जनसंगठन गरी पहिलो जनविद्रोहको नेतृत्व गरे (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, अंक १०, वि.सं. २०५३ माघ) । उनलाई जंगबहादुरको आदेशमा वि.सं. १९३३ मा हालको शहिद लखन गाउँपालिका, वडा नं. ७ काहुले भङ्गारमा निर्मित विद्रोही किल्ला परिसरभित्रको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।