अख्तियारको अप्रेसनः १० लाख घुससहित दुई पक्राउ, पूर्वराज्यमन्त्री फरार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धानमा परेको उजुरी मिलाउन आयोगका अधिकारीलाई नै प्रभावमा परेर घुस दिन खोज्ने दुई जना राजधानीको दरबारमार्गबाट समातिएका छन् । पक्राउ पर्नेमा जोरपाटीस्थित बुद्ध एकेडेमी आवासिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम वाङछेन शेर्पा र उनका छोरा सोनाम छिरिङ शेर्पा रहेका छन् ।

आर्थिक अनियमितता गरेको भन्दै शेर्पाका बाबुछोराविरुद्व अख्तियारमा उजुरी परेपछि सो मुद्दा मिलाउन उनीहरुले अख्तियारका उपसचिव हरिबाबु पोख्रेल र डिएसपी रबिराज खड्कालाई केहि दिनयता निरन्तर भेटेका थिए । भेटका क्रममा उनीहरुले खड्का र पोख्रेललाई मुद्दा मिलाइदिए १० लाख दिने अफर गरेका थिए । सो अफर गर्ने क्रममा पूर्व स्थानीय राज्यमन्त्री नरबहादुर बुढा पनि सहभागि रहेका थिए , उनी अखिल नेपाल हिमाली बौद्य संघको अध्यक्ष पूर्व तथा हाल शेर्पा अध्यक्ष रहेको स्कुलका पूर्व अध्यक्ष पनि हुन् । उनकै आर्थिक सहयोगमा विद्यालय चल्दै आएको बताइएको छ ।

शेर्पा बाबुछोरा र बुढा मिलेर पोख्रेल र खड्कालाई १० लाखको अफर आएपछि उनीहरुले सो कुरा अख्तियारमा लिखित रुपमा जानकारी गराएका थिए । लगत्तै अख्तियारले उनीहरुलाई पक्राउ गर्नुपर्ने भन्दै सोहि अनुसार प्रक्रिया अघि बढाइएको थियो ।

अख्तियारको योजनाअनुसार खड्का र पोख्रेलले उनीहरुलाई १० लाख लिएर दरबारर्गस्थित रेड कार्पेट रेस्टुरेन्टमा आज दिउँसो आउन भनेका थिए । तर, सो अघि नै उनीहरुलाई समात्न अख्तियारले रेष्टुरेन्टमा सिसि क्यामेरा फिट गर्न लगाएको थियो ।
पूर्व निर्धारित कार्यक्रमअनुसार रेष्टुरेन्टमा पूर्वराज्यमन्त्री बुढासहित शेर्पा बाबुछोरा पुगेका थिए भने खड्का र पोख्रेल पनि अख्तियारको टोलीसहित गोप्य रुपमा पुगेका थिए ।
रेस्टुरेन्टको काउन्टरमा पैसा राखेर पोख्रेल र खड्का भेट्न शेर्पा बाबुछोरा र बुढा पुगेपनि पक्राउ गर्न खोजिएको भन्ने बुझेर पूर्व राज्यमन्त्री बुढा भने एकाएक भाग्न पुगेको डिएसपी खड्काले जानकारी दिए । उनले १० लाख रुपयाँसहित शेर्पा बाबुछोरालाई भने पक्राउ गरिएको जनाएका छन् ।
यसैबीच फरार बुढाको पनि खोजी भइरहेको बताइएको छ ।