नेपाल आइपुग्यो भारतबाट खरिद गरिएको १० लाख डोज कोरोना खोप

काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोरोनाभाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

आइतबार दिउँसो एयर इन्डियाको विमानबाट १० लाख डोज कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो खेपमा १० लाख डोज खोप ल्याइएको हो ।

उक्त खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यलयहरुबाट देशभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

बाँकी खोप पनि चाँडै प्राप्त हुने मन्त्रालयले जनाएको छ।