आचारसंहिता ख्याल गर्न पत्रकार महासंघको आग्रह

काठमाडौं ३० पुस, । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले जिम्मेवार दलका नेताहरुले व्यक्त गर्ने घृणायुक्त अभिव्यक्तिका कारण समाजिक द्वेष बढ्ने र सदभाव खल्बलिने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

fnj-logoमहासंघले सामाजिक सदभाव खल्बलिने खालका अभिव्यक्ति नदिन सबैमा आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा बुधबार जारी वक्तव्यमा मुलुक अत्यन्तै सम्वेदनशील घडीबाट गुजि्रइरहेकाले यस्तो बेलामा पत्रकारहरुलाई आचार संहिताको ख्याल गर्न आग्रह गरिएको छ ।

‘यतिबेला मुलुक अत्यन्तै संवेदनशील अवस्थाबाट गुज्रिरहेको सबैलाई विदितै छ । कतिपय अवस्थामा जिम्मेवार दलका नेताहरुबाटसमेत एकअर्काप्रति आरोप-प्रत्यारोप गर्ने क्रमसँगै गालीगलौज र घृणायुक्त अभिव्यक्ति दिने प्रवृत्ति मौलाउँदै गएको छ,’ महासंघको वक्तव्यमा भनिएको छ, ‘यस्ताखालका अभिव्यक्तिले अन्ततः सामाजिक द्वैष बढ्ने र सद्भाव खलबलाउने कुरामा सन्देह छैन ।’

राजनीतिक दल, विभिन्न समूह, वर्ग, जाति, भाषा, क्षेत्रबाट आ-आफ्ना माग उठाउनु स्वभाविक हो भन्दै महासचिवको वक्तव्यमा भनिएको छ, ‘यस्तो संवेदनशील अवस्थामा सञ्चार जगतले अझ बढी जिम्मेवारीपूर्वक र मर्यादितरुपमा समाचार संप्रेषण गरी समाजलाई सही दिशा दिनु उत्तिकै आवश्यकता छ ।’

‘हार्दिक अपील’ शीर्षकको महासंघको वक्तव्यमा पत्रकार आचार संहिताको बुँदा नं ४ (१) लाई ख्याल गर्न पत्रकारहरुलाई आग्रहसमेत गरिएको छ ।

पत्रकार आचार संहिताको उक्त बुँदामा ‘राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने’ शीर्षकमा भनिएको छ-‘बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुक नेपालको सर्वाभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायहरुका बीचको सुसम्बन्धमा खलल पार्ने वा गाली-बेइज्जती वा अदालतको अवहेलना हुने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार विचार प्रकाशन-प्रसारण तथा उत्पादन-वितरण गर्नुहुँदैन ।’

पछिल्लो समयमा देशमा बढेको राजनीतिक ध्रुवीकरणसँगै सत्तापक्षका नेता र प्रतिपक्षवीच जातीय क्षेत्रीय मुद्दाहरुमा भनाभन र विवाद बढ्न थालेपछि पत्रकार महासंघले सञ्चारकर्मीहरुलाई साम्प्रदायिक सम्वेदनशीलताप्रति संयम अपनाउन ध्यानाकर्षण गराएको हो ।