सहमतिबाटै संविधान बनाउन राष्ट्रसंघ उपमहासचिवको आग्रह

काठमाडौं, पुस २९ – संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्रे फेल्टम्यानले सकेसम्म सहमतिबाटै संविधान बनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघका महासचिव वान कि मुनका विशेष प्रतिनिधिका रुपमा नेपाल भ्रमणमा आएका उपमहासचिव फेल्टम्यानले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो भेटी सहमतिकै आधारमा संविधान बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको शान्ति प्रक्रिया विश्वका अन्य मुलुकको भन्दा निकै फरक खालको रहेको भन्दै दलहरुले सहमतिबाट संविधान जारी गर्दा त्यो विश्व समुदायका लागि नै एउटा पाठ हुने बताउनुभयो ।

उहाँले एमाओवादी अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक टुंगियोस् भन्ने राष्ट्रसंघको चाहना रहेको भन्दै संविधानको विवादका कारण शान्ति प्रक्रिया बिथोलिने त होइन भनेर जिज्ञासा समेत राख्नुभयो ।

जवाफमा प्रचण्डले आफूहरु सहमतिबाट संविधान जारी गरी शान्ति प्रक्रिया टुंग्याउने पक्षमा रहेको उल्लेख गर्दै शंका नगर्न आग्रह गरेको भेटवार्तामा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

राष्ट्रसंघका उपमहासचिव फेल्टम्यान एमाओवादी अध्यक्ष प्रचण्डसँगको करिब एक घण्टा लामो भेटवार्तापछि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेट्न माओवादीको पार्टी कार्यालय बुद्धनगर पुग्नुभएको थियो ।