माघ ८ को सम्भावना टर्‍यो : नेम्वाङ

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो माघ ८ गतेभित्र नयाँ संधिवान जारी हुने सम्भावना निकै पर पुगेको बताएका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलहरुबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुने बताए। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई आज बिहानसम्म दिइएको अन्तिम समयसीमामा पनि संविधानका अन्तर्वस्तुमा सहमति नभएकाले तोकिएको समयमा संविधान ल्याउन कठिन हुने उनको भनाइ थियो।
आफूले अन्तर्वस्तुमा सहमति भएको अवस्थामा नियम निलम्बन गरेर छोटो प्रक्रियाबाट माघ ८ भित्र संविधान जारी गराउने प्रस्ताव गर्दा पनि दलहरु त्यसतर्फ गम्भीर नभएकाले अब संविधान, कानुन र प्रचलित अभ्यासबमोजिम प्रक्रिया अघि बढ्ने जानकारी उनले जानकारी दिए।
सहमति जुट्न नसकेका विषयमा प्रश्नावली निर्माणका लागि सभाले विशेष समिति गठन गर्न सकिने जनाउ पनि उनले दिए।