घुस लिएको आरोपमा अख्तियारकै दुई अधिकृत पक्राउ

पोखरा-अरुले भ्रष्टाचार गरेको भए कारबाहीको दायरामा ल्याउने जिम्मेवारी बोकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन्। आयोगको पश्चिमाञ्चल कार्यालय पोखराका अधिकृत विनोद अमात्य र लेखाअधिकृत तोयानाथ शर्मा जिल्ला जनस्वास्थ्य पर्वतका कर्मचारीसँग २ लाख रुपैयाँ घुस मागेको आरोपमा मंगलबार पक्राउ परेका हुन्।

उनीहरुले जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझासँग दुई लाख रुपैयाँ घुस लिएको उजुरी छानबिनका क्रममा संकलिन प्रमाणबाट खुल्न आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले हिरासतमा लिई मंगलबारबाटै उनीहरुमाथि छानबिन थालेको छ। औषधि किन्दा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले पर्वत जिल्ला जनस्वास्थ्यका कर्मचारीमाथि छानबिन गरेको थियो। त्यसै सिलसिलामा उक्त केस मिलाइदिन्छौं भनी २ लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ।

‘अमात्य र शर्माविरुद्ध पर्न आएको उजुरी निवेदन उपर छानबिनका क्रममा हालसम्म संकलित प्रमाणबाट निजहरुले घुस लिएको खुल्न आएको छ, अख्तियारले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवार अनुसन्धान अधिकृतको पदीय हैसियतमा रही सदाचारको खोल ओढी भ्रष्टाचारविरुद्धको गरिमामय अभियानमा धब्बा लगाउने निकृष्ट कार्य गरेको पाइएकाले निजहरूलाई नियन्त्रणमा लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।’

जिल्ला जनस्वास्थ्यले औषधि किन्न टेन्डर गर्छ। सरकारले सर्वसाधारणलाई निशुल्क वितरण गर्न भनेका ७० थरी औषधि किन्न उसले टेन्डर गर्ने हो। पर्वत जनस्वास्थ्यले औषधि किन्ने टेन्डरमा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। त्यसैको छानबिनका लागि आयोगको पोखरा कार्यालयबाट अमात्य र शर्मा हालै पर्वत पुगेका थिए। त्यसैक्रममा केस मिलाइदिने भन्दै उनीहरुले घुस खाएका थिए।