किरा र रोग विज्ञको अभावले अनुसन्धान प्रभावित

गुल्मी- अनुसन्धान केन्द्र स्थापना गरे पनि दक्ष जनशक्ति उपलब्ध नहुँदा देशकै एक मात्र कफी अनुसन्धान केन्द्रले प्रभावकारी काम गर्न सकेको छैन।

देशभर सेतो गबारोले कफीका बोट मर्न थालेपछि त्यसको अनुसन्धान गर्न सरकारले गत वर्ष बलेटक्सारको भण्डारी डाँडामा केन्द्र स्थापना गरेको थियो। सेतो गबारो कफीको मुख्य रोग हो। तर त्यही किरा र रोग विज्ञ अभावमा

सेतो गबारोको प्रभावकारी अनुसन्धान हुन नसकेको हो।

‘देशभर गबारोको समस्या छ,’ केन्द्रका प्रमुख वरिष्ठ कृषि वैज्ञानिक कृष्णबहादुर थापाले भने, ‘तर किरा र रोग विज्ञ छैनन्।’ ३ जना विज्ञ रहने केन्द्रमा थापा र प्राविधिक अधिकृत रुक्मागत पाठक मात्र कार्यरत छन्। पटक पटक जनशक्ति माग गरे पनि सरकारले नपठाएको थापाले बताए।

केन्द्रले अनुसन्धानका लागि पूवार्धार तयार गरेर काम थालेको जनाएको छ। छुट्टाछुट्टै ८ बगैंचा बनाएर ५ प्रजातिका कफीका बिरुवा र ५ थरी प्रांगारिक मलसमेत उत्पादन सुरु गरेको थापाले बताए।

केन्द्रमा जिल्लाको हावापानी सुहाउँदो क्षेत्रदीप, गुल्मी स्थानीय, सेलेक्सान दस, स्याङ्जा स्पेसल र एल्लोकटोरा जातका ८ सय बोट उत्पादन भइरहेका छन्। सबै बिरुवालाई २ अनुसन्धान ब्लक निर्माण गरी परीक्षण सुरु गरिएको छ। थापाले भने, ‘अनुसन्धान ब्लक, अतिथि ब्लक, छायाँ भएको र नभएको खुला ब्लक गरी ४ ब्लकमा बिरुवासँगै अनुसन्धान जारी छ।’ नर्सरीका बिरुवाको अवस्था हेरेर असारदेखि किसानकहाँ जाने गरी केन्द्रले तयारी गरेको छ।

अहिलेसम्म गैरसरकारी संस्थाले किसानको बगैंचामा आउने र नियन्त्रणको प्रयासभन्दा पनि परीक्षण गर्दै जाने गरेकाले किसानलाई यसले पनि केही गर्दैन भन्ने भान परेकाले केन्द्रले आफै बगैंचा निर्माण गरेर छुट्टै तरिकाबाट अनुसन्धान सुरु गर्नुपरेको थापाले बताए।