काठमाडौं- ०४६ सालपछिका अधिकांश सरकारमा मन्त्री भएका विजयकुमार गच्छदार कांग्रेस-माओवादी सरकारमा जान नपाउने भएका छन् ।
कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।
गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भड्कन सक्ने भएकाले कांग्रेस-माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले नयाँ सरकारमा जानकै लागि अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो ।
कांग्रेस-माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए ।






