काठमाडौं, जेठ १३ । चालु आर्थिक वर्ष २०७२/७३ मा आर्थिकबृद्धि शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने प्रक्षेपण सरकारले गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले विहीबारको व्यवस्थापिका–संसद बैठकमा प्रस्तुत् गरेको आर्थिक सर्वेक्षणले एक प्रतिशतभन्दा कम आर्थिकबृद्धि हुने अनुमान गरेको हो । गत वर्ष २ दशमलव ३२ प्रतिशतले आर्थिकबृद्धि भएको थियो ।
यस्तै, मूल्यबृद्धि भने यो वर्ष ९ दशमलव ७ प्रतिशत रहने सरकारी प्रक्षेपण छ ।
भूकम्पबाट भएको भौतिक संरचनाको क्षतिबाट अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पर्न नदिन पुनःनिर्माण एवं नवनिर्माणलाई उच्च प्राथमिकतामा राखी आन्तरिक एवं बाह्य लगानीको उचित परिचालनको माध्यमबाट उच्च आर्थिक बृद्धिदर हासिल गर्न चुनौतीपूर्ण रहेको जनाइएको छ ।
नेपाली अर्थतन्त्रमा संरचनागत् परिवर्तन आएको सर्वेक्षणमा जनाइएको छ ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दो रहेको र सेवा क्षेत्रको योगदान बढ्दो रहेको जनाइएको छ ।
यस्तै, ३७ ओटा सार्वजनिक संस्थानहरुमध्ये २० ओटा नाफामा र १४ ओटा संस्थान खुद घाटामा सन्चालन भइरहेको जनाएको छ ।
संसदमा प्रस्तुत् सार्वजनिक संस्थानहरुको वार्षिक समीक्षाअनुसार आर्थिक वर्ष २०७१/७२ मा सार्वजनिक संस्थानले ३३ अर्ब ९२ करोड खुद नाफा गरेका छन् ।
अघिल्लो वर्ष ५ अर्ब ५ करोडमात्रै खुद नाफा गरेका थिए ।






