२०१५ मा रियल मड्रिडको पहिलो जित

२७ पुस, काठमाडौं । स्पेनिस ला लिगा लिडर रियल मड्रिडले सन् २०१५ मा पहिलो जित हात पारेको छ ।

वर्षको सुरुका दुई खेलमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडसँग पराजित भएको रियल मड्रिडले इस्पानियोललाई ३-० गोल अन्तरले पराजित गरेको छ । रियल मड्रिडको २२ खेलको विजयी यात्रामा पूर्ण विराम लगाउने क्रममा भ्यालेन्सियाले ला लिगामा नै २-१ ले हराएको थियो भने एथ्लेटिको मड्रिडले कोपा डेल रेमा २-० ले हराएको थियो ।

शनिबार राति घरेलु मैदान बर्नाबाउमा भएको खेलमा रियल मड्रिडले १२ औं मिनेटमा जेम्स रोडि्रग्वेजको गोलबाट अग्रता लियो । उनले क्रिष्टियानो रोनाल्डोमा पासमा झण्डै १५ यार्ड टाढाबाट गोल गरेका हुन् ।

२८ औं मिनेटमा ग्यारेथ बलले फ्रिकिक गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर गरे ।

दोस्रो हाफको ५३ औं मिनेटमा फाविओ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल मड्रिड झण्डै ४० मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । तर, इस्पानियोलले त्यसको फाइदा उठाउन सकेन ।

खेलको ७८ मिनेटमा नाच्होले गोल गर्दै रियल मड्रिडलाई ३-० को जित दिलाए ।

जितपछि रियल मड्रिड १७ खेलबाट ४२ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ । समान अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।