- शिव भण्डारी
लन्डन- बेलायतका नेपाली रेष्टुरेन्ट व्यसायीहरुलाई बुधबार साँझ लन्डन दूतावासमा दशैं लागेझैं थियो । कामको चाप र कामदार अभावले प्रायः भान्साबाट निस्कन नभ्याउने व्यवसायी र सेफहरु उपप्रधानमन्त्री कमल थापाको दर्शन गर्न बढि नै लालयित देखिन्थे ।
मन्त्री कमल थापाले नेपलिज क्याटरर्स एसोसिएसन यूकेले प्रकाशित गरेको ‘टेस्ट अफ नेपाल’ नामक पुस्तक विमोचन गर्ने कार्यक्रम थियो । च्यारिटीका नाममा कार्यक्रमको प्रवेश शुल्क ज्यादै महंगो ५० पाउण्ड तोकिएको थियो ।
मन्त्री थापाले पुस्तक विमोचन गरे, नेपालको राजनीतिक वस्तुस्थिति सुनाए र सहभागी त्यसैमा दंग भए । त्यहां सहभागी कसैले पनि खान र पिउन बाहेक रेष्टुरेन्टका गम्भीर समस्या समाधान गर्न सोचेनन् । बरु नेपाली राजनीतिका चतुर खेलाडी मन्त्रीसंग सेल्फी र तस्विर लिन सबै झुम्मिए ।
नेपालका एकजना प्रभावशाली मन्त्री आउंदा व्यवसायीले रेष्टुरन्टका आफ्ना समस्या समाधानका लागि पहल गर्नुपथ्र्यो । अहिले बेलायतमा नेपाली रेष्टुरेन्टको अवस्था ज्यादै दयनीय छ । म आफैं पनि यो व्यवसायको धेरथोर जानकार भएकाले अहिले जनशक्ति पर्याप्त नहुंदा मालिक आफैं किचनमा खटिनुपर्ने अवस्था छ ।
होम अफिसले धमाधम रेष्टुरेन्टका लाइसेन्स खारेज गरिदिएर कामदार अनि मालिक दुवैको बिजोग छ । धेरै विद्यार्थी रेष्टुरेन्टबाट वर्क परमिट निकाल्ने नाममा ठगिएका छन् । उनीहरु कि दलालबाट कि रेष्टुरेन्ट मालिकबाटै शोषित भएको खबर आइरहन्छ । व्यवसायीहरुले पहिला आफ्ना समस्या सम्वन्धित निकायमा पुर्याउनेतिर ध्यान दिनुपर्ने हो नकि पुस्तक निकालेर सबै समाधान हुन्छ । बेलायत नेपाल दौत्य सम्वन्ध स्थापनाको दुई सय वर्ष गाँठका अवसरमा पुस्तक प्रकाशन आफैंमा सरहानीय कदम हो । यसले एउटा इतिहास पनि राख्नेछ तर समस्या एकातिर छाडेर रमाइलो भोज भतेरमा रम्ने हाम्रो बानी भइसकेको छ ।
नेपलिज क्याटरर्स एसोसिएसन यूके बिरलै सक्रिय हुने संस्था हो बेलायतमा । त्यहां आवद्ध हुनेहरुलाई आफ्नो व्यवसाय फष्टाउन बाहेक न समाजको चिन्ता छ न देशको । हुन त यो व्यवसाय यतिखेर चरम संकटमा छ । कामदार नभएर मात्र होइन, बढ्दो प्रतिष्पर्धाले व्यवसाय धमाधम बन्द भइरहेका छन् । ऋण, मोर्गेज, कर आदि इत्यादि समस्याले व्यवसायीलाई टाउको माथि हुन पनि नदिएको यथार्थ हामीसामू छ । पहिला आफू बनाउनुपर्छ अनि समाज । तर, समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्छु भन्नेले केही दायित्व पनि निर्वाह गर्न सक्नुपर्छ । हिजो च्यारिटी डिनरमा प्रति टिकट ५० पाउण्डका दरले उठाइएको पैसा पारदर्शी होला ? करिब डेढ सयले खाएको रात्रीभोज र पेय पदार्थको पैसा नकटाइ सबै संकलित रकम एसोसिएसनले भने जस्तै नेपालको पुनर्निर्माणमा लगाउला ? सबैलाई चासोको विषय यही छ ।
तस्विरहरुः एभरेष्ट गौतम









