लन्डन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिंग शेर्पा नेतृत्वको एक टोली लण्डन आइपुगेको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपुगेका हुन ।
बेलायत भ्रमणमा आएका एन्फाका प्रतिनिधीहरु लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिंदा यहांका नेपाली समुदायको तर्फबाट स्वागत गरिएको थियो । उनीहरुको स्वागतका लागि सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, साहरा यूके सल्लाहकार महेश गुरुङ, रामचन्द्र सुर्जे गुरुङ, बाचस्पति रेग्मी, कमल गुरुङ सहितका बेलायतस्थित नेपाली समुदायका अगुवाहरु हिथ्रो विमानस्थल पुगेका थिए ।
एन्फाका अधिकारीहरुले सोमबार सेप्टेम्बर २४ मा लण्डनमा आयोजना हुने फिफाको वार्षिक अवार्ड समारोहमा भाग लिनेछन । साथै, हालै रशियामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको समिक्षा बैठकमा समेत उनीहरु सहभागी हुने कार्यक्रम छ । यसैबीच यहि सेप्टेम्बर २५ तारिखका दिन एन्फाको टोलीसंग सहारा यूकेले अल्डरसटमा एक कार्यक्रम गर्दैछ । सो दिन दिउंसो बजेदेखि ५ बजेसम्म अल्डरसटको भेटघाट रेष्टुरेन्टमा स्वागत तथा नेपाली समुदायसंगको अन्तरक्रिया कार्यक्रम गरिदैछ । 
सोहि दिन सांझ ५ बजे सहारा यूकेकै संयोजनमा एन्फाको टोली र अल्डरसट टाउन फुटबल क्लबबीच एक बैठक राखिएको छ ।लण्डन नेपाल न्यूज डटकमका लागि शिव भण्डारीको बिशेष रिपोर्ट–






