मुगु- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान घोषणा भएसँगै नेपाली कांग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनाइ आएको बताउनुभएको छ ।
एमाओवादीले गमगढीमा आयोजना गरेको बृहद जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान घोषणा हुनुअघि नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारमा प्रमुख दल सहभागी हुने समझदारी भए पनि कांग्रेस वर्तमान सरकारमा नहुँदा संविधान कार्यन्वयनमा कठिनाइ भएको छ ।”
स्व गिरिजाप्रसाद कोइरालको निधनपछि राजनीतिक अविभावकको जिम्मेवारी आफूमा आएको बताउँदै अध्यक्ष दहालले प्रमुख दलको सहभागिता र समझदारीमा राष्ट्रिय सरकार बनाउने पहलकदमी आफूले लिने बताउनुभयो । यद्यपि, अध्यक्ष दाहालले वर्तमान सरकार गिराएर आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा आफू नरहेको स्पष्ट पार्नुभयो ।






